दुर्गमबासीको सेवामा गरिएको काम बन्द नगरियोस्
धर्म प्रचार गरेको आरोपमा सरकारले उत्तरी गोरखामा गम्भीर बिरामी, सुत्केरी तथा घाइतेको उद्धार गर्ने काम गरिरहेको माउण्टेन चाइल्ड नामक एक गैरसरकारी संस्थालाई कार्यक्रम गर्नबाट रोक लगाएको छ ।
सरकारी प्रतिवन्धपछि सो संस्थाले गप, छाक र क्वाकमा सञ्चालन गर्दै आएको शिशु स्याहार केन्द्र बन्द भएको छ । सो संस्थाले गपमा संचालन गर्दै आएको गाउँघर क्लिनिक पनि बन्द भएको छ । सो संस्थाले संचालन गरेको नुब्री आधारभूत विद्यालयको छात्रवासको कार्यक्रम पनि रोकिएको छ ।
सो विद्यालयमा सञ्चालित होस्टेलमा सो संस्थाको सहयोगमा दुईजना कुकु, दुईजना आया र एकजना तिब्बती भाषा(व्याकरण) पढाउने शिक्षकको पनि जागिर गएको छ ।
चुमनुब्री गाउँपालिका ४ बाहेक अन्य वडाहरुमा सञ्चालित स्वास्थ्य तथा सरसफाइ सम्बन्धी कार्यक्रम पनि रोकिएको छ । त्यसैले अहिले उत्तरी गोरखाका बासिन्दा चिन्तित छन् ।
सो संस्थाको म्याद गत असार मसान्तमा सकिएको थियो । म्याद थपका लागि समाजकल्याण परिषदमा जाँदा परिषदले गृहमन्त्रालयले म्याद नथप्न निर्देशन दिएको भन्दै फर्काएको थियो ।
सो संस्था दातृसंस्था भए पनि विद्यालय, गाउँघर क्लिनिक तथा हेलिकोप्टर उद्धार सेवा सञ्चालन गर्ने स्थानीय साझेदार संस्था गप सामुदायिक जागरण समाज थियो । सो समाजका अध्यक्ष स्थानीय खेम्पो लामा छन् भने कार्यकारी निर्देशक सेराङ गुम्बामा ध्यान गरेका निमा लामा छन् ।
वौद्ध धर्ममा समर्पित व्यक्तिहरुको नेतृत्वमा सञ्चालित संस्थाले क्रिश्चियन धर्म प्रचार गर्ने स्वतन्त्रता दिएको भन्ने उजुरी झुठा भएको स्थानीयबासीको दाबी छ । संस्थाप्रति इश्र्या गर्ने व्यक्तिले झुठा आरोपमा गृहमन्त्रालयमा उजुरी दिएकाले माउण्टेन चाइल्डका कार्यक्रमहरु बन्द भएको स्थानीयबासीको गुनासो छ ।
संस्थाले काठमाडौँमा केही व्यापारिक फर्म सञ्चालन गर्ने गरेको छ । सरकारले अनियमित भएको कुरा मात्र बन्द गरी दुर्गमबासीको हितमा गरिएका कार्यक्रम भने सञ्चालन गर्न दिनुपर्नेमा जोड दिँदै आएका छन् ।




