
गोरखा प्रज्ञा प्रतिष्ठान गठन हुँदै
गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । गोरखाको कला, संस्कृति तथा गीत संगीतको जगेर्ना र विकास गर्ने उद्देश्यले नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।
केही दिनअघि सम्पन्न कार्यपालिका बैठकले प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरी मस्यौदा तयार गर्न वडा नं. २ का अध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा मस्यौदा समिति गठन गरेको उनले जानकारी दिए ।
समितिले तयार गरेको मस्यौदा आसन्न कार्यपालिकाको बैठकले अनुमोदन गरी माघ सात गते हुने हिउँदे सभाले अनुमोदन गर्ने उनले बताए । मस्यौदा निर्माणको काम धमाधम भइरहेको मस्यौदा समितिका संयोजक मियाँले जानकारी दिए ।
आफ्नो नेतृत्वको पाँच सदस्यीय समितिले मस्यौदा तयार गरी पासका लागि बैठकमा पेश गर्ने र बैठकबाट पनि पास भइसकेपछि सभामा पेश गर्ने उनले बताए । ‘हिउँदे सभाले अनुमोदन गरेपछि प्रज्ञा प्रतिष्ठान गठन कार्यान्वयनको चरणमा जानेछ’, मियाँले भने, ‘केही महिनाभित्रै गोरखा नगरपालिकाले गोरखा प्रज्ञा प्रतिष्ठान पाउने छ ।’
प्रज्ञा प्रतिष्ठानले गोरखा नगरपालिकाभित्रका साहित्यकार र साहित्यको उत्थानका लागि काम गर्नेछ भने यहाँ प्रचलित लोकगीत, संगीत, ललितकला, तथा अन्य विविध कलाको प्रवद्र्धनका लागि काम गर्ने मियाँले बताए ।




