
केरौँजाबेशीमा सुन्तला खेती, सिँचाइको अभावले बोट मर्न थाल्यो
धार्चे २ केरौँजाबेशीमा व्यवसायिक रुपमा सुन्तला खेती सुरु गरेका फिरेन्द्र घले सुन्तलाको बोट मर्न थालेपछि अहिले चिन्तामा छन् । परीक्षणको रुपमा पहिलो पल्ट गरिएको सुन्तला खेती सिँचाइको अभावमा बोट मर्न थालेपछि घले चिन्तित भएका हुन् ।
उनले भूकम्पअघि स्थानीय दुर्इ रोपनी जग्गामा एकसय बोट सुन्तला परीक्षणका लागि रोपेका थिए । ‘गोरखाबाट भारी बोकेर गाउँ जान हिँडिरहेको थिएँ ।
गोरखा बजारको मानेपानीमा सुन्तलाको नर्सरी देखेँ’, उनले भने, ‘हाम्रो गाउँमा पनि हुन्छ होला भन्ने ठानेर दुईहजार रुपैयाँ खर्च गरी एकसय वटा विरुवा किनेर ल्याएँ ।’ रोपेकै बर्ष भूकम्प गएर नजिकैको पानीको मुहान सुकेपछि अहिले सिँचाइमा समस्या भएको उनले बताए ।
‘हुर्केका बोटहरुमा फल लाग्न सुरु गरेको छ’, उनी भन्छन्, ‘यो बर्ष अलिअलि खान पाइयो । बेच्न पनि पाइयो । तर पानी लगाउन नसकेर २०, २५ वटा विरुवा मरिसक्यो ।’ सिँचाइका लागि उनले गाउँपालिकाको कृषि शाखा तथा जिल्लाको कृषि ज्ञानकेन्द्रमा अनुरोध गर्ने योजना बनाएका छन् । उनले घले दाजुभाइ कृषि समूह, धार्चे २ नामक कृषि समूह बनाएर काम गरेको बताए ।
‘हामी ११ जना किसान छौँ’, उनले भने, अहिलेसम्म सरकारबाट सहयोग लिएको छैन । अब गाह्रो प¥यो । सहयोग लिनुपर्ने भयो ।’ यसअघि करिब १५ बर्षअघि केयर नेपालले परीक्षणका लागि भनेर यहाँ दुईवटा बोट सुन्तला लगाएको थियो । सो बोटबाट राम्रै उत्पादन भएको उनले बताए ।
उनले सो ठाउँमा केराखेती पनि सुरु गरेका छन् । हजारिया, मालभोग र स्थानीय जातका केरा ५० बोट लगाएको उनले बताए । त्यस्तै २० वटा बोट कागती पनि लगाएका छन् ।
कृषि व्यवसाय सरकारको प्राथमिकतामा भए पनि व्यवहारमा भने कृषकलाई राहत पुग्ने खालका कार्यक्रम नभएको उनको अनुभव छ ।
उत्पादन भएपछि सुन्तला, कागती तथा केरा माछाखोला, खोर्लाबेशी र चुमनुब्रीसम्म लाने योजना रहेको उनले बताए ।




