
द ओसन क्लवको आयोजनामा दलभञ्ज्याङ्गमा भोलि देखि फुटबल मेला हुने
गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्ग स्थित कृतिम खेल मैदानमा शनिबार देखि चौथो फुटबल मेला सुरु हुने भएको छ । द ओसन क्लवले आयोजनामा भोलि देखि फुटबल मेला सुरु हुन लागेको हो ।
चौथो फुटबल मेला दुई चरणमा संचालन गरिने क्लवले जनाएको छ । पहिलो चरणमा भोलीबाट गोरखा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच फुटबल प्रतियोगिता हुने क्लवका अध्यक्ष अमित खत्रीले बताए ।
नगरभित्रका जम्मा १६ टिमको सहभागिता रहने प्रतियोगिताको बिहिबार क्लबले पत्रकार सम्मेलन गरेर खेलको टाईसिट सार्वजानिक गरेको छ । जसमा प्रतियोगितालाई ४ समुहमा बिभाजन गरिएको क्लबले जनाएको छ ।
लिग नकआउटका आधारमा खेलाइने प्रतियोगिताको ए समुहमा गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, १० को रत्नराज्य मावि, ७ को मनकामना बोर्डिङ्ग र १ को जनज्योती आधारभुत बिधालय रहेका छन् । जसमा महालक्ष्मी र जनज्योती त्यस्तै रत्नराज्य र मनकामना बोर्डिङ्गबिच प्रतिस्प्रधा हुने अध्यक्ष खत्रीले बताए ।
त्यस्तै समुह बि मा वडा नम्बर ८ को द ओल्ड क्यापिटल मावि, ४ को सरस्वती मावि, १२ को सेन्ट जोसेफ र ६ को बालमन्दिर मावि रहेका छन् । यस समुहमा ओल्ड क्यापिटल र बालमन्दिर त्यस्तै सेन्ट जोसेफ र सरस्वतीवीच प्रतिस्प्रधा हुने बताइएको छ ।
यसैगरी समुह सि मा वडा नम्बर ८ को सरस्वती मावि, १२ को महेन्द्र मावि, ६ को मोर्डन इङ्गलिस बोर्डिङ्ग र १३ को रामशाह मावि रहेका छन् । समुह डि अन्तरगत सरस्वती र रामशाह त्यस्तै मोर्डन र महेन्द्रविच खेल हुने खत्रीको भनाई छ ।
प्रतियोगिताको समुह डि मा वडा नम्बर ९ को लक्ष्मी सामुदायिक शिक्षा सदन, ६ को शक्ती मावि, ७ को जेनियस बोर्डिङ्ग र ८ को रत्नलक्ष्मी मावि रहेका छन् । यस समुह अन्तरगत लक्ष्मी सामुदायिक र रत्नलक्ष्मी तथा शक्ती र जेनियस विच प्रतिस्प्रधा हुनेछ ।
हरेक शनिबारका दिन मात्रै खेलाईने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गर्न लागेको अध्यक्ष खत्रीले बताए ।
त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक÷एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् ।
सबै गरेर कुल १२ टिम हुन्छ’ अध्यक्ष खत्रीले भने । प्रतियोगिता विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।




