
हिमपातले संरक्षण क्षेत्रका लोपोन्मुख वन्यजन्तु मरे
गोरखा :
केही दिनदेखिको हिमपातले उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ । जनजीवन मात्र नभै मनास्लु संरक्षण क्षेत्रभित्र रहेका संरक्षित तथा लोपोन्मुख वन्यजन्तु समेत मरेका छन् ।
मनास्लु संरक्षण क्षेत्रभित्र रहेका संरक्षित तथा लोपोन्मुख जनावरहरु हिउँचितुवा, कस्तुरी, कालोभालु, रातोभालुहरु समस्यामा परेका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।
‘बाक्लो हिउँ पर्न थालेपछि जंगली जनावरहरु भाग्दै बस्ती नजिक आउने गर्छन् । यही मौकामा कैयौँ संरक्षित जनावरलाई जंगली कुकुरले मार्ने गरेको पनि छ’, आयोजनाका प्रमुख अजित तुम्बाहाम्फेले भने, ‘गतबर्ष सामागाउँमा चारवटा र ल्होमा दुईवटा कस्तुरीलाई कुकुरले मारेको पाइयो । त्यस्तै सामागाउँमा आठवटा नाउर कुकुरले मारे, छेकम्पारमा तीनवटा मारे । हिमालयन थार हिनाङमा तीनवटा, घोँडाका बच्चा सामागाउँमा छ वटा, याकको पाँचवटा मारेको पाइयो ।
त्यसको तथ्यांक हामीले राष्टिूय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागमा पठाएका छौँ । यसबर्ष चाहिँ के कति क्षति भए भन्ने बारे तथ्यांक आइसकेको छैन ।’ जताततै हिउँ पर्दा संरक्षित जनावरहरु खानेकुरा र पानी नपाएर समस्यामा पर्ने पनि उनले बताए । हिमपातबाट अताल्लिएर भागेका कैयौँ कस्तुरी, झारल, नाउरहरु हिउँ पहिरोमा परेर पनि मर्ने गरेका चुमनुब्री गाउँपालिका १ का वडा सदस्य मिङमार लामा बताउँछन् । ‘जंगली जनावरहरु भाग्दै, ओत खोज्दै बस्तीतिर आउँछन् ।
त्यही बेला कुकुरले पनि मार्छ । कतिपयचाहिँ भाग्दाभाग्दै हिउँपहिरोमा परेर मर्छन्’, उनले भने, ‘यही बर्ष पनि १० वटा भन्दा धेरै यस्ता महत्वपूर्ण जनावहरुलाई कुकुरले मारेको छ ।’ जंगल, खर्क, चरनहरुमा बस्ने याकचौरी पनि समस्यामा परेका उनले बताए । ‘हिउँ प¥यो भनेर मान्छेहरु रमाइरहेको देखिन्छ तर स्थानीयबासीको समस्या अलग्गै हुन्छ’, उनी भन्छन्, ‘किसानका याकचौरीहरु हिउँ पहिरोमा परेर मर्दा किसानहरुलाई धेरै ठूलो क्षति हुन्छ । यो समस्या कोही देख्दैनन् ।’ लाखौँको क्षति बेहोरेका दुर्गमका किसानलार्ई क्षतिपूर्ति दिनुपर्ने लामाले माग गरे ।
लगातार दुई दिनदेखि हिमपात हुँदा उत्तरी गोरखा पाँचफिट भन्दा बाक्लो हिउँ परेको छ । गुम्बा लगायतका महत्वपूर्ण सम्पदामा बाक्लो हिउँ जमेपछि भाँचिने, भत्किने, पानी चुहिने, गुम्बाभित्रका सम्पदाहरुमा क्षति पुग्ने चुमनुब्री ७ बुर्जीका छिरिङ लामा बताउँछन् ।
‘पिरुङ गुम्बाभित्र लामा गुरु तपस्यामा बसेका छन्, तर छानामा बाक्लो हिउँ जमेर भाँचिने, भत्किने खतरा बढेको छ’, उनले भने, ‘खानेपानी छैन । बाहिर निस्कन सकिएको छैन । जनजीवन पनि सकसपूर्ण छ ।’
चुमनुब्री ६ लोक्पाको समस्याग्रस्त पहिरो केही थामिए पनि हिउँ पर्न थालेपछि पहिरो चल्न थालेको स्थानीय सेराप गुरुङ बताउँछन् ।




