
धार्चेका बालबालिकालाई सिरक डस्न र खाद्यान्न सहयोग
दरौँदी : धार्चे गाउँपालिका वडा ५ माछाखोलास्थित जनजागृत माध्यमिक विद्यालयमा र कालरात्री मावि लापुका विद्यार्थीहरुलाई दातृ संस्था एवं व्यक्तिगत रुपमा न्यानो कपडा तथा ओढ्नेओछ्याउने वितरण गरिएको छ ।
जनजागृति माविमा अध्ययनरत बालबालिकालाई चुमनुब्री गाउँपालिका ४ प्रोक निवासी पेमा ग्याल्पो लामा र टाशी दोर्जे लामाले सिरक डस्ना तथा खाद्यान्न सहयोग गरेका हुन् ।
विद्यालयको छात्रवासमा अध्ययनरत ६५ जना बालबालिकालाई प्रतिविद्यार्थीलाई एक/एक वटा पुग्ने गरी ब्ल्याङ्केट, कम्बल, डस्ना, सिरकको खोल, सिरानी वितरण गरिएको सहयोगदाता पेमा ग्याल्पो लामाले बताए । त्यस्तै, तन्ना र सिरानी खोल १३०/१३० वटाका दरले, मोजा र टोपी ६०/६० वटाका दरले, राता र कालो १/१ बोरा, चामल ४० बोरा, तेल तीन प्याक र मस्यौरा एक बोरा वितरण गरिएको उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिको आग्रहमा विद्यालयको होस्टल पुग्दा उनीहरुको नाजुक अवस्थामा देखेपछि उक्त सामाग्री सहयोग गरेको उनले बताए । उनीहरुले सोमबार विद्यालयमा एक कार्यक्रम बीच विद्यालय व्यवस्थापम समितिका अध्यक्ष विश्व गुरुङ र शिक्षकहरुलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
यस्तै, धार्चे गाउँपालिका ७ लापुको कालरात्री माविको छात्राबासमा अध्ययनरत बाल बालिालाई सिरक डस्ना लगायतका सामाग्री सहयोग गरिएको छ । स्थानीय पर्यटन व्यवसायी गणेश गुरुङको पहलमा माइली नेपाल संस्थाले उक्त सामाग्री सहयोग गरेका हुन् । छात्राबासमा अध्ययनरत विद्यार्थीलाई १२ वटा म्याटूेस, सिरानी, सिरक र तन्ना १५/१५ वटाका दरले र केही लुगाहरु पनि सहयोग गरेको माइली संस्थाका प्रबन्धक निर्देशक गणेश गुरुङले जानकारी दिए ।
काठमाडौबाट सामानको ढुवानी सहित गरेर करिब एक लाख खर्च भएको उनले जानकारी दिए । छात्राबासमा भिरकुना, खानिगाउँ, यामगाउँ, स्याम्राङ, पैटुका कक्षा आठदेखि कक्षा दशमा पढ्ने विद्यार्थीहरु बसिरहेको गुरुङले बताए । यसअघि पनि उनले सोही विद्यालयका बालबालिकाका लागि ४२ हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए ।
विद्यालय अध्ययन गर्ने बालबालिकाहरु धेरै टाढाटाढाबाट घण्टौ हिडेर आउनुपर्ने भएकाले उनीहरुलाई सहजताका लागि विगत दुई महिना देखि छात्राबास संचालन गरिएको उनले जानकारी दिए । एकदेखि कक्षा दशसम्म संचालन हुने विद्यालयको छात्रवासमा १५ जना विद्यार्थी र तीन जना शिक्षक बस्दै आएका छन् ।
आफ्नै गाउँको विद्यालय शिक्षाको गुणस्तर राम्रो बनाउन र छात्राबासमा अध्ययनरत विद्यार्थीहरुलाई सहजताका लागि उक्त सामाग्री सहयोग गरिरहेको गुरुङले बताए ।
सहयोगदाता गणेश गुरुङ धार्चे ७ को वडा सदस्य र गोरखा क्षेत्र १ को प्रदेश खका क्षेत्रीय सदस्य समेत हुन् ।




