| सोमवार, कार्तिक २३, २०८३

विद्यार्थीले आलुखेती गरेको समाचार पढेपछि ……

‘बिद्यार्थीले गरे आलुखेती’ शीर्षकमा पुस १२ को समाचार पढें । यो असाध्यै राम्रो सुरूवात लाग्यो । कुनै बखत आलुको तरकारी खान पाइन्नथ्यो । माथि–माथि सिरानचोकबाट गुरूङहरूले धान, मकै, कोदोसँग साँट्न ल्याएको आलु बचाएर खाइन्थ्यो । अलि ठूलाबडा पाहुना आउँदा आलुको तरकारी दिंदा इज्जत रहने सम्झना आउँछ ।

कहिलेकहिं नेपालबाट भारी बोकेर आउने मानिस भेटिए हरियो लसुन, काउली, आलु पठाइन्थ्यो । हामीकहाँ यिनको कहीं खेती गरिन्नथ्यो । हाम्रो परिबारको स्वामित्वको पुतलीखेतको मुहानेगरामा भने थाकखोलाका थकाली आएर बास बस्ने, निगालाका मान्द्राले छाएका भट्टी राख्दथे । मुहाने गह्रामा आलु रोप्ने गर्थे । मुहाने गह्रामा माटो बलौटे हुँदा आलु राम्रो हुन्थ्यो । उनीहरू चैत अगाडि जाने गर्थे ।

आलु खनेपछि कोसेलीका रूपमा एक डालो आलु दिएर जाने गरेको सम्झन्छु । अन्यत्र कतै उत्पादन गरेको थाहा छैन । केहीबर्षअघि लुइँटेलस्थित घर जाँदा बाटोको वरिपरिका फाँटहरू खालि बस्तुभाउ चर्ने चउर जस्ता खाली देखिन्थ्यो । हिउँदमा बस्तु छाडा छोड्ने भएकोले बाली नलगाइ बाँझै रहन्थे ।

यहाँ उल्लेख गरेको बगुवाखेत कताको रहेछ । धेरैबर्षदेखि आफ्नो घर नजानाले कुन ठाउँ रहेछ पत्तो भएन । जिम्मुवाली प्रथा रहँदासम्म लिगलिग, मिरकोट, पालुङ्टार, गाईँखुर, च्याङ्ली, खोप्लाङ आदि गाउँ क्षेत्रका भूमिकर उठाउने कार्य आफ्नै घरको जिम्मा थियो ।

अहिले सीमाबर्ती भारतका बजार पनि पहाडका फलफूल र तरकारी र बेमौसमका फल तरकारि खुब मन पराउँछन् । लसुन, अदुवा, खुरसानी, आलु, मटरकोसा, स्थानीय सिमी, जापानी बिन–कोसे सिमी) आदिको माग सुनिन्छ ।

त्यसैले यसअघि मैले डा. केदार बुढाथोकीले यहाँका सम्भाबित पाकेट र सम्भाब्य खेतिबारे सल्लाह दिने दिलाउने प्याकेजको आग्रह गरेको थिएँ । यस्तै रचनात्मक कार्य होओस् शुभकामना ।

चैतन्य देवकोटा (बडडाँडा गोरखा)
हाल : काठमाडौँ

प्रतिक्रिया दिनुहोस्