गोरखा उद्योग वाणिज्य संघमा सफल नेतृत्व टिम आउन्
अहिले गोरखा उद्योग वाणिज्य संघको सोह्रौँ अधिवेशन चलिरहेको छ । शनिबारदेखि सुरु भएको साधारणसभा तथा अधिवेशनको आइतबार निर्वाचन कार्यक्रम सकिएको छ । सोमबारसम्म सबै पदको मतगणनाको नतिजा आउने विश्वास लिन सकिन्छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्यहरु उम्मेद्वारी दर्ताको क्रममा नै निर्विरोध भएका छन् । महासचिव, सचिव र बाँकी सदस्य पदमा निर्वाचन भएको हो । निर्वाचनबाट आउने टिम अत्यन्त नेतृत्व गर्न सफल हुने खालका जुझारु टिम आउन् ।
संकीर्ण, संकुचित, आफ्नो लुते धन्दामा मात्र भुल्ने, आफ्नो पसल, व्यापार, व्यवसायमा मात्र अलमल गरिरहने स्वार्थी नेतृत्व आयो भने व्यापारी, व्यवसायीको हक अधिकारको पक्षमा काम हुनेछैन । जसले व्यापारी, व्यवसायीको मर्म, भावनाका साथै ग्राहक वा उपभोक्ताको भावना बुझ्न सक्छ, उसले नेतृत्व गरेमा उसले कार्यकाल सफल मात्र होइन, पृथक र नयाँपन समेत ल्याउन सक्छ ।
कार्यकाल मात्र बिताउने, भित्तामा फोटा मात्र टाँस्ने नेतृत्व आएमा आगामि अवधि गोरखा उद्योग वाणिज्य संघको इतिहासमा भ्याकुम जस्तो मात्र देखिनेछ । गोरखा उद्योग वाणिज्य संघले उद्योगी व्यापारीको पक्षमा काम गर्दैगर्दा ग्राहक, उपभोक्ताको क्षेत्रमा समेत काम गर्नुपर्छ । साथै माताहतका उद्योगी व्यवसायीका उद्योग, व्यापार, व्यवसाय फस्टाउने खालका कार्यक्रमहरु लन्च गर्न सक्नुपर्छ ।
अन्य जिल्लाहरुको अभ्यास, देश तथा विदेशका अभ्यासहरुको अध्ययन गरी गोरखाको अबस्था साविकबाट माथि उठाउन पहल गर्नुपर्छ ।
पर्यटनको क्षेत्रमा अघि बढाएको गोरखा उद्योग वाणिज्य संघको पाइलालाई अघि बढाउन सक्नु अबको आवश्यकता छ ।
होमस्टे तथा विभिन्न भ्यू प्वाइण्टहरुको प्रावद्र्धन गरी पर्यटन विकासतर्फ अबका दिनमा काम गर्नुपर्छ । यस्तै अन्य कार्यक्रम समेत गर्न सक्नुपर्छ । त्यति मात्र होइन, नेतृत्वले व्यवसायीहरुलाई एकतृत गरी सुगठित र संवृद्ध पनि बनाउनु पर्छ ।




