
पेशागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष अर्याल
गोरखा नगरपालिका वडा ६ स्थित पेशाकर्मीहरु संवद्ध पेशागत बचत तजा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा शनिबार विभिन्न कार्यक्रम गरी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ ।
संस्थाको पाँचौ अधिवेशनले फेरि पनि मन्जु अर्यालकै अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रमेश पोखरेल, सचिवमा नवराज उपाध्याय, कोषाध्क्षमा नन्दलाल रेग्मी चयन भएका छन् । सदस्यहरुमा नन्दकुमार श्रेष्ठ, इच्छाकुमार श्रेष्ठ, इश्वर पाण्डे, जनार्दन पोखरेल, सविना पोखरेल, गौतम बल्छौडी र सन्तोष दवाडी चयन भएको निर्वाचन कमिटीका संयोजक रामचन्द्र दुवाडीले जानकारी दिए ।
निर्वाचन कमिटीको संयोजकमा दुवाडी, सदस्यमा मन्जु भट्टराई, शिवबहादुर थापाले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा संस्थाको कोषाध्यक्ष प्रतिवेदन नन्दलाल रेग्मी, सचिवको प्रतिवेदन बद्री अर्यालले प्रस्तुत गरेका थिए ।
सहकारीको कुल पुँजी ४७ लाख ८ हजार दुईसय रहेको छ भने एक करोड ३७ लाख ६७ हजार नौ सय १३ रुपैया लगानी रहेको संस्थाले जनाएको छ । सहकारीमा हाल तीन सय ४० जना सेयर सदस्य रहेका छन् । चालु वर्ष सहकारीले आफ्ना सेयर सदस्यहरुलाई १९.५ प्रतिशत मुनाफा वितरण गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, सहसचिव लुमनाथ लामिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष नारायण अर्याल, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सिताराम भट्ट लगायतले मन्तव्य राखेका थिए ।




