
एमसिसी हाउसमा लान साइत हेरिरहनु पर्दैन : गृहमन्त्री खाँण
मिलेलियन च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसदबाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने गृहमन्त्री बालकृष्ण खाँणले दाबी गरेका छन् । सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनैपनि बेला संसदमा लैजाने उनले तर्क गरे ।
‘एमसिसी हाउसमा लैजान साइत हेरिरहनु पर्दैन’, गोरखाका पत्रकारहरुसँगको भेटमा गृहमन्त्री खाँणले भने, ‘सदनबाट पास गर्ने प्रावधान नेपाल सरकारले नै राखेको हो त्यसैले यो पास हुनुपर्छ र टुंगो लाग्नुपर्छ । हिजो एमसिसी भित्र्याउने बेला पनि अहिलेको गठबन्धनका दलहरु सबै थियौँ । अहिले पनि हामी सबै छौँ ।’ अनुमोदनका बिषयमा गठबन्धनभित्रै समझदारी बन्न नसकेमा के गर्ने भन्ने बिषय छलफलमै रहेको तर टुंगो लागिनसकेको उनले बताए ।
एमसिसी नेपालले प्रस्ताब गरी अमेरिकी सरकारले स्वीकृत गरेको विकास परियोजना भएकाले यसमा विवाद गर्न नहुने गृहमन्त्री खाँणको तर्क छ । ‘एमसिसी नेपालले नै प्रस्ताब गरेको विकास परियोजना हो त्यसैले हामी सबै यसमा सकारात्मक रहनुपर्दछ’, उनले भने, ‘विद्युत ट्रान्समिसन निर्माण, सडक निर्माण, गरिबी निबारण र रोजगारीका लागि यो परियोजना नेपाल सरकारले प्रस्ताब गरेको र अमेरिकाले स्वीकृत गरेको मात्र हो । यो कुनै सैन्य गठबन्धन होइन ।’ अमेरिकी नागरिकको करबाट प्राप्त अनुदानको सही सदुपयोग होओस् भनेर अमेरिकाले गरेको चासो र चिन्तालाई अन्यथा अर्थ लगाउन नहुने उनको दाबी छ ।
श्रृङ्खलावद्ध निर्वाचन गर्न आयोग तयार रहेमा समुचित प्रवन्ध गर्न सरकार तयार रहेको उनले बताए । ‘स्थानीय तह र आमनिर्वाचनका लागि पनि चर्चा चलिरहेको छ तर निक्र्यौल निक्लिएको छैन । निर्वाचन आयोगले भनेको जसरी नै निर्वाचनको तयारी र पूर्वतयारी गर्न सरकार तयार छ ।’ निर्वाचन आयोगले प्रस्ताब गरेअनुसार व्यवस्थापन गर्न र सुरक्षा प्रदान गर्न सरकार सक्षम रहेको उनले बताए ।
शनिबार गोरखा आएका गृहमन्त्री खाँडले गोरखा उद्योग वाणिज्य संघको सोह्रौँ अधिवेशनको उद्घाटन गरेका छन् । यसअघि नेपाली कांग्रेसका अगुवा कार्यकर्तासँग अन्तरक्रिया समेत गरेका थिए ।




