आँखा उपचारका लागि बरदान
गैरनाफामुलक र समाजसेवा गर्ने लक्ष्य राखी धेरै गैरसरकारी संस्थाहरु खुल्छन् । कतिपय निरन्तरतामा धैर्यता राख्न नसकी विलय हुन्छन्, केही निरन्तर क्रियाशील हुन्छन् ।
निरन्तर क्रियाशील हुनेहरु पनि कतिपय घिटिघिटी गरेर मात्र अस्तित्वमा रहेका हुन्छन्, केही सँधै जवान झैँ जुर्मुराइरहेका हुन्छन् । कुनै दातामा मात्र निर्भर हुन्छन्, कुनै स्वसञ्चालन हुन्छन् । कुनै जताततै हात हाल्ने कतै काँट नलगाउने हुन्छन्, कुनै संस्थाले काममा विशिष्टिकरण गर्दै जान्छन् र सफलता हात पार्छन् ।
गोरखामा त्यस्ता केही सामाजिक संस्थाहरु क्रियाशील छन्, जसको काम मुक्तकण्ठले प्रसंसा गर्न कञ्जुस्याइँ गर्नु हुदैन ।
रोटरी क्लवले पोलियो उन्मुलनमा निरन्तर सरकारसित सहकार्य ग¥यो । अहिले पोलियो उन्मुलन अभियान करिब(करिब उत्तराद्र्धमा छ । त्यस्तै मुटुरोगको परीक्षण तथा उपचार शिविर सञ्चालन गरी गोरखाका मुटुरोगी तथा सम्भावित मुटुरोगीलाई ठूलो गुन लगाएको छ । कोभिडका बेला स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका सह्राननीय नै छ ।
त्यस्तै अर्को सामाजिक संस्था छ, लायन्स क्लव अफ गोरखा । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले यसले बर्षेनी वृक्षारोपण गर्छ । यो भन्दा ठूलो योगदान गोरखाका आँखाका रोगीहरुको सेवामा छ । लायन्स क्लबको अग्रसरतामा गोरखामा आँखा उपचार केन्द्र स्थापना भएको छ, जसलाई प्रस्तावित आँखा अस्पताल नामले निरन्तर सञ्चालन गरिरहेको छ । अहिले लायन्स क्लवकै सहयोग, समन्वय तथा सापेक्षतामा नेत्रज्योति संघ गठन भई, सो काम अघि बढाइरहेको छ ।
नेत्रज्योति संघले सदरमुकामको घेराबाट बाहिर निस्की गाउँटोलमा गएर समेत आँखाका बिरामीहरुलाई सेवा दिने उद्देश्यले विभिन्न पालिकाहरुसित समन्वय र सहकार्य गरी सेवा विस्तार गरिरहेको छ । हालै सिरानचोकमा आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरेको छ । यसले गोरखाको क्षेत्र नं. २ का आँखाका बिरामीलाई सेवा दिने विश्वास छ ।
त्यसैले यी सामाजिक संस्था गोरखालीका लागि बरदान सावित छन् ।




