
लामो प्रतिक्षापछि फिस्लिङ पुल सञ्चालनमा
निर्माण सम्पन्न भएको चार महिनाको अवरोधपछि फिस्लिङ पुल सञ्चालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङबजार जोड्ने मोटरबेल पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
पुल निर्माण कार्य सम्पन्न भएपनि निर्माण कम्पनी सपना कन्स्टूक्शनले चौकीदार र तगारो तेस्र्याएर राखेपछि पुल बन्द थियो । साथै भुम्लिचोकतर्फको पुलजीपबाट करिब एकसयमिटर पर रहेको सडकसम्म टूयाक नखनेका कारण पुल सञ्चालनमा आउन नसकेको स्थानीयबासीको गुनासो थियो ।
सडक र पुल जोड्ने टूयाक निर्माण कम्पनीले नै खन्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर सम्झौता विपरीत निर्माण कम्पनीले पुल मात्र निर्माण गरेर लामो समयसम्म काम छोडिदिएका थिए ।
पुल सञ्चालनमा आएपछि बर्षौँदेखि झोलुंगेपुलबाट त्रिशुली वारपार गर्ने स्थानीय अब पक्कीपुलबाट आवतजावत गर्न पाएका छन् । पुलबाट सवारी साधन पहिलो पटक नदी पारी फिस्लिङ बजार सम्म लैजान पाउँदा निकै खुशी महसुस गरेको बिगत लामो समय देखि तरकारी ढुवानी तथा यात्रुहरु ओसार्दै आएका बिजौरे निवासी जीप सञ्चालक नारायण गुरुङले बताए । गाउँबाट पुल वारीसम्मको ढुवानी खर्च र झोलुङ्गे पुलबाट पुन भरियाको सहयोगमा प्रती क्रेट २५ रुपैयाँको दरले लाग्ने भरिया खर्च पनि अब कटौती हुनेमा स्थानीयबासीले खुशी ब्यक्त गरेका छन् ।
त्यसैगरी भुम्लिचोकमा उत्पादन भएको तरकारी अब गाडीमार्फत फिस्लिङसम्म लैजान सकिने भन्दै स्थानीयबासी खुशी भएका छन् । ‘पुलजीपमा गाडीबाट झारेर फेरि डोकोमा बोकेर झोलुंगेपुल तार्नुपर्ने बाध्यता अब समाप्त भयो’, स्थानीय बलराम सुनारले भने, ‘अबदेखि थप ढुवानीभाडा पनि नलाग्ने भयो । दैनिक उपभोग्य सामानको भाउ पनि अब थोरै भनेपनि सस्तोमा पाइने भयो ।’
तस्वीर सौजन्य : दानबहादुर गुरुङ(पत्रकार)




