
उवासंघ गोरखामा अध्यक्षसहित प्यानलकै उम्मेदवारी घोषणा
उद्योग वाणिज्य संघ गोरखाको अध्यक्षमा कृष्णकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । पुस १० र ११ गते हुने ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा हाल बरिष्ठ उपाध्यक्ष रहेका उनले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेद्वारी घोषणा गर्दै उनले ब्यवशायीको हक हितका लागि आफ्नो कार्यकालमा संघले काम गर्ने दावी गरे । ‘पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर ब्यवशायीकताको विकास गर्ने गरी संघले काम गर्नेछ’, उनले भने, ‘हाम्रा गतिविधिले गोरखा जिल्ला र ब्यवशायीलाई फाईदा पुग्ने गरी काम गर्छौँ ।’
गोरखा सदरमुकामको होटल मिराकलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा चन्दनबाबु खत्री, सचिवमा गोबिन्द गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि महासचिव रहेका राजुबाबु श्रेष्ठले भने आफ्नो कुनैपनि पदमा उम्मेद्वारी नरहने बताए ।
संघको सदस्यमा शरण श्रेष्ठ, दीपककुमार श्रेष्ठ (अनु), बसन्त बस्नेत, शिवध्वज खत्री, मानकाजी श्रेष्ठ, रामहरि केसी, रीता रेग्मीले पनि उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरेकाहरु यसअघि पनि संघको कार्यसमितिका रहेर नेतृत्व गरेकाहरु हुन् । यी बाहेक सुनचाँदी ब्यवशायी संघबाट प्रतिनिधित्व गर्ने एकजना बस्तुगत तर्फबाट सदस्य हुनेछन् भने दुईजना मनोनित सदस्य हुने ब्यवस्था छ । गोरखा उद्योग बाणिज्य संघ माताहत गठन भएका इकाईका अध्यक्षहरु पनि सदस्य हुने ब्यवस्था छ ।
गोरखा उद्योग बाणिज्य संघबाहेक आठ वटा स्थानीय तहमा इकाई गठन गरिएको छ । चुमनुब्री र बारपाक सुलिकोटमा भने गठन गर्न बाँकी रहेको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए । संघमा अहिले आठसयभन्दा बढि सदस्य छन् । अधिवेशनमा यी सबै सहभागी हुन पाउँछन् । अध्यक्षमा उम्मेद्वारी दिन पदाधिकारी भएको हुनुपर्छ भने अन्य पदमा उम्मेद्वारी सदस्यले दिन सक्नेछन् । हरेक तीन वर्षमा हुने अधिवेशन अहिले भने कोभिडको कारण १० महिना पर धकेलिएको हो ।




