| सोमवार, कार्तिक २३, २०८३

एक वर्षमा गोरखामा मानव अधिकार उलंघनका ३० घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाहरुको समीक्षा कार्यक्रम गरेको छ ।
जिल्लामा संकलन गरिएका घटनाको प्रकाशन गर्नुअघि बुधबार पूर्वसमीक्षा गरिएको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले बताए ।

गोरखामा एक वर्षको अवधिमा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतिका ३० वटा घटना छन् । सन् २०२१ को एक बर्षको अवधिमा २० वटा बालअधिकार, १ वटा जातीय विभेद र ९ वटा महिला हिंसाका घटना प्रतिवेदनमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले घरेलु हिंसा न्यूनिकरणका लागि टोल–टोलमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

जिल्लामा आत्महत्याको दर बढेकाले यसतर्फ पनि सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए ।
इन्सेकको घटना अभिलेखिकरणले जिल्लाको विगत र वर्तमानको समाजको चित्र प्रस्तुत गर्ने नागरिक साझा सवालका संयोजक स्थानेश्वर दवाडीले बताए ।

जिल्लाका मानवअधिकार उल्लंघनका घटनालाई कम गर्न इन्सेकको अभिलेखिकरणलाई माध्यम बनाएर बिभिन्न योजना र कार्यक्रम संचालन गर्न सकिने पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्