खै कसरी रहला र समताको साख
भुक्तभोगीहरु भन्छन्, ‘जुनसुकै कुरा सुरु गर्न भन्दा निरन्तरता दिन कठिन हुन्छ ।’
समता शिक्षा निकेतन गोरखामा सुरु हुँदा धेरै आशा, अपेक्षा थिए ।
गोरखा जस्तो ग्रामीण भेगमा रहेको ठाउँमा धार्चे, चुमनुब्री, बारपाक सुलीकोट, अजीरकोट जस्ता दुर्गम गाउँबाट आएका बालबालिकाले सस्तो, सुपथ शुल्कमा गुणस्तरीय शिक्षा पाउँछन् भन्ने अपेक्षा गरिएको थियो ।
झण्डै १० बर्षसम्म राम्रोसँग सञ्चालन भएको पनि हो तर व्यवस्थापकीय कमजोरीका कारण बिगत नौ महिनादेखि विद्यालय बन्द छ । सञ्चालन हुँदाका बखत पनि व्यवस्थापनले शिक्षक, शिक्षिकालाई उचित पारिश्रमिक नदिएको, नियमित पारिश्रमिक नदिएको जस्ता गुनासा प्रसस्त सुन्नमा आउँथ्यो ।
उचित र नियमित पारिश्रमिक नहुँदा विद्यालयले छानी(छानी उत्कृष्ठ शिक्षक राख्न नसकेको अभिभावक गुनासो गर्ने गर्थे । विद्यालय सञ्चालन भएका बेला पनि समताका व्यवस्थापकले आफ्नै जग्गामा भवन निर्माण गर्न आलटाल गरेर जस्तापाताले बनाएको टहरोमा पठन पाठन गरेका थिए । जसले गर्दा गर्मीका बेला धेरै गर्मी र जाडोका बेला धेरै जाडो हुने भएकाले विद्यार्थीहरुले सकस बेहोरिरहेका थिए
। आर्थिक अबस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई कक्षा एकदेखि उच्च शिक्षासम्म एकसय रुपैयाँ शुल्क तिरेर गुणस्तरीय शिक्षा लिन पाउन् भन्ने उद्देश्यले स्थानीय राजुबाबु श्रेष्ठले आफ्ना स्वर्गीय पितामाता इश्वरीप्रसाद र इश्वरीदेवी श्रेष्ठको स्मृतिमा समतालाई पाँच रोपनी सात आना जग्गा दान गरेका थिए । पर्याप्त जग्गा हुँदाहुँदै पनि समताको व्यवस्थापनले सो ठाउँमा भवन निर्माण नगरी सकसपूर्ण संरचनामा राखेर पठनपाठन गर्दै आएको थियो ।
आफूले दान गरेको जग्गा दशौँबर्षसम्म प्रयोगबिहिन भएपछि जग्गादाताले सो जग्गा फिर्ता गरी गुरुकुल वा मानवसेवा आश्रमलाई प्रदान गर्ने बारे समताका व्यवस्थापनसित छलफल गरेका छन् ।
यो अबस्था आउन नदिने व्यवस्थापन पक्षले यथासीघ्र समता विद्यालयलाई सञ्चालनतर्फ ध्यान दिनु जरुरी छ ।




