
हरमटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुको प्रर्दशन
गोरखा सदरमुकामको हमरटारी खेलमैदानमा मेला नगर्न माग गर्दै युवाहरुले प्रर्दशन गरेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फा गोरखा सहित आवद्ध बिभिन्न क्लवका युवाहरु मैदानमा भेला भएर खेलकुद बाहेकका गतिविधी गर्न नहुने बताएका हुन् ।

चेम्बर अफ कमर्सले पुस ५ देखि १५ सम्म खेलमैदानमा मेला आयोजना गरेको छ । मैदानमा मेला सञ्चालन गर्दा खेलकुद गतिविधी ठप्प हुने, जिल्ला स्तरीय लिग फुटबलको तयारी प्रभावित हुने भएकाले मैदानमा मेला रोक्नुपर्ने एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
‘मैदानमा खेल खेल्ने हो, मेला महोत्सव गर्ने होईन, मेला मैदानको बिकल्प खोज, खेलकुद मैदानको संरक्षणमा जुटौँ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु मैदानमा धर्ना बसेका छन् ।

मेला आयोजक चेम्बर अफ कमर्सले स्टल निर्माण, मञ्च निर्माण लगायतको काम गरिहेको थियो । मेला स्थलमा आज बिहानदेखि भने निर्माणको काम रोकिएको छ ।




