
होटल गुर्खा इन नयाँ ब्यवस्थापनसहित संचालनमा
गोरखा सदरमुकामको बैंकरोडस्थित ‘होटल गुर्खा इन’ नयाँ ब्यवस्थापनसहित पुनः संचालनमा आएको छ । होटल गोरखा प्यालेसका संचालक निधिप्रसाद तिमल्सिना र सावित्रा तिमल्सिनाले उक्त होटल संचालनमा ल्याएका हुन् ।
‘करिब दुई करोड लगानी गरेर होटल नयाँ ब्यवस्थापन सहित सुरु गरिएको छ’, संचालक निधिप्रसाद तिमल्सिनाले भने । २०५५ भदौ १ गतेबाट सुरु भएको होटल २०७२ सालको भुकम्पपछि सुस्तगतिमा र बिगत तीनबर्षदेखि धन्ने बन्द अबस्थामा थियो ।
२०७७ फागुनमा नयाँ ब्यवस्थापनले जिम्मा लिएर मर्मतसम्भार सुरु गरेको संचालक तिमल्सिनाले बताए । अहिले होटल सिङ्गारिएको छ । कोठा, बाहिरी वातावरण मनमोहक बनाइएको छ । गार्डेन र हलको स्तरीय सुविधा रहेको उक्त होटल बिबाह, ब्रतबन्ध लगायतको शुभ कार्यका लागि पनि उपयुक्त रहेको उनले बताए ।
होटलमा रहेका स्तरीय २७ वटा कोठामा एक सय जनासम्म एकै पटक राख्न सकिने सञ्चालकले जनाए । तीनवटा स्वीट, २० वटा सुपर डिलक्स, र चारवटा डिलक्स रुम रहेको उनले बताए । ‘होटलमा साउना, ज्याकुजी, स्टिमबाथ सेवा राख्ने तयारी छ’, उनले भने ‘जेन्स पार्लर पनि संचालन गर्छौँ ।’ होटलमा बस्ने पाहुनाले यो सुविधा लिन पाउनेछन् । यो भने गोरखाको होटलका लागि नयाँ हो । होटलमा साना ठुला गरी तीनवटा हल छन् । २१ बर्षदेखि होटल क्षेत्रमा अनुभव संगालेका तिमल्सिनाले २०७३ सालमा गोरखाको हरमटारीमा गोरखा प्यालेस नामको होटल संचालनमा ल्याएका थिए ।
‘गोरखा पृथ्वीनारायण शाहको जिल्ला हो, यहाँ धार्मिक पर्यटकदेखि गोरखा घुम्न आउने पाहुना धेरै हुन्छन्’, संचालन तिमल्सिनाले भने, ‘होटलको संभावना देखेर संचालन गर्न लागेको हुँ ।’
गोरखाको संस्कृति देखाउने गरी पर्यटकलाई नियमित सांस्कृतिक कार्यक्रम देखाउने गरी योजना बनाईरहेको उनले बताए । ‘गोरखा आएका पर्यटकलाई गोरखा दरबार लगायत वरपरको गन्तब्य, बारपाक, भच्चेक, माछाखोला जस्ता ठाउँहरुमा घुम्न लैजाने गरी प्याकेज पनि संचालन गर्ने तयारीमा छौँ’ संचालक तिमल्सिनाले योजना सुनाउँदै भने ।




