
गोरखामा मेला गर्ने स्थलबारे सँधै लफडा
गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला, महोत्सव गर्ने विषय केही वर्ष यता बर्षेनी बखेडाको विषय बन्ने गरेको छ । खेल सम्बद्ध संस्थाहरुले मैदानमा खेलकुद गतिविधि मात्र हुनुपर्ने माग राख्दै आएका छन् भने ब्यवशायिक, ब्यापारिक संघ संस्थाले मेला महोत्सव गर्ने एक मात्रै बिकल्पको रुपमा हरमटारी खेलमैदानलाई लिएका छन्
। मेला गर्ने ठाउँको बिकल्प खोज्ने बारे भने कहिल्यै छलफल भएको छैन ।
पुस ५ देखि १५ सम्म चेम्बर अफ कमर्सले गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा मेला गर्ने निर्णय गरेको छ । चेम्बरले मैदानको स्वामित्व रहेको जिल्ला खेलकुद बिकास समितिसँग सम्झौता गरेर कृषि तथा ब्यापार प्रर्वद्धन मेला गर्न अनुमति लिइसकेको छ । ‘हामीले खेलकुद बिकास समितिसँग अनुमति लिईसकेका छौँ’ चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठले भने ।
मेला हुने भनिएको खेलमैदानमा उपभोक्ता समितिले मर्मतको काम गरिरहेको छ । नगरपालिकाले बिनियोजन गरेको २० लाख बजेटबाट त्यहाँ मैदान मर्मत भईरहेको छ । गत वर्ष एन्फाको सहयोगमा मैदानमा घेराबार लगाइएको थियो । मेला महोत्सव हुँदा मैदानको धरातल बिग्रने, हरेक वर्ष मेला महोत्सव हुँदा मैदानमा गरेको लगानी खेर गएको एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । २०७६÷७७ मा १० लाख रुपैयाँ खर्च गरेर हरमटारी खेलमैदान मर्मत गरिएको थियो ।
अहिले पक्की नाला, मैदान स्तरोन्नती लगायतको काम अहिले सुरु भएको बताउँदै उनले मेला महोत्सव रोकेर उक्त मैदानलाई खेलकुद गतिविधि मात्र संचालन गर्ने ठाउँको रुपमा प्रयोग गर्नुपर्ने माग राखेका छन् ।
गोरखा जिल्ला फुटबल संघ, गोरखा जिल्ला ब्याडमिन्टन संघ, हरमटारी क्लव, गोरखा युथ क्लव, गोरखा जिल्ला सितेरियो कराते संघ, गोरखा र गोरखा जिल्ला तेक्वान्दो संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा हरमटारी खेलमैदानमा मेला महोत्सव रोग्न माग गरेका छन् ।
जिल्ला खेलकुद बिकास समितिले मंसिर ३ गते चेम्बर अफ कमर्सलाई चलानी नं. १६२ को पत्राचार गर्दै मैदानमा निर्माण भएको संरचना बिग्रने भएकाले मेला महोत्सव गर्न मैदान कुनैपनि संघ संस्थालाई नदिने विषयमा पत्राचार गरेको थियो ।
अध्यक्ष शान्तसिंह बस्नेतले हस्ताक्षर गरेको पत्र पठाएको दुई सात नबित्दै बस्नेतले नै मैदान दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अध्यक्ष बस्नेतले उक्त मैदान खेलकुद बिकास समितिको स्वामित्वमा भएकाले संरचनामा असर नपुग्ने गरी मेला गर्न दिएको बताए । ‘जिल्ला खेलकुदलाई दुई लाख रुपैयाँ मेला गरे बापत दिने सम्झौता भएको छ’ उनले भने । मैदान पनि मेला आयोजकले पुर्वबत अवस्थामा बनाईदिने गरी सम्झौता भएको उनले बताए ।
राष्टिूय खेलकुद परिषदले खेलमैदानको सुरक्षाको लागि सम्झौता रक्षा गर्न जिल्ला खेलकुद बिकास समितिलाई परिपत्र गरेको छ । तर खेलकुद बिकास समितिका अध्यक्ष बस्नेतले आफु गण्डकी प्रदेश मातहतको रहेकाले राष्टिूय खेलकुद परिषदको पत्र आउँदैमा सम्झौता रद्ध नहुने जिकिर गरे । राष्ट्रिय खेलकुद परिषदले खेलमैदान अन्य प्रयोजनकालागि कुनै ब्यक्ति वा संस्थालाई भाडा उपलब्ध गराउन सम्झौता गर्दा परिषद् तथा संघको सहमती लिएर मात्र उपलब्ध गराउन भनेको छ । तत्काल अहिले भएको सम्भौता रद्ध गर्न परिषदले जिल्ला खेलकुदलाई ताकेता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयलाई पनि बोधार्थ पठाउँदै राखेपले उक्त काममा सहयोग गरि लेखमैदानको संरक्षणमा जोड दिन भनेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मेला गर्न प्रशासनले स्वीकृति नदिएको बताए । अन्यत्र मेलाहरु भईरहेकाले यहाँ पनि आयोजना गरिएको हुन सक्ने बताउँदै उनले भने, ‘मेला महोत्सव गर्न अनुमति दिने अवस्थामा छैनौँ ।
’ साथै उनले खेलमैदानको विषयमा पनि खेलक्षेत्र सम्बद्ध संस्थाहरुले मेलामा मैदान प्रयोग गर्न नहुने बताउँदै आएका छन् । राखेपले पत्राचार गरेको विषयमा उनले भने ‘माथिल्लो निकायले सम्झौता रद्ध गर्नु भनेपछि त्यो रद्ध गर्नुपर्ने हो ।’




