
गोरखालाई करोडौँ बजेट अपुग
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयलाई कार्य सम्पादन गर्न चालु वर्ष करोडौँ रुपैयाँ अपुग हुने भएको छ ।
अर्थमन्त्रालयले सोमबार सदरमुकाममा आयोजना गरेको बजेट कार्यन्वयन र आर्थिक सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागी कार्यालय प्रमुखहरुले अहिले बनाइएको योजना कार्यान्वयन गर्न उक्त बजेट आवश्यक रहेको बताएका हुन् ।
पूर्वाधार कार्यालयका प्रमुख ओमराज ढुङ्गाना चालु वर्ष सुरु गरिएका सबै काम सम्पन्न गर्न ५४ करोड ४१ लाख रुपैयाँ अपुग हुने बताउँछन् । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख किरण पौडेलले अधिकांश योजनामा बजेट कम हुँदा काम गर्न समस्या भएको बताउँछन् ।
‘ठेक्कामा गएका विशेष अनुदानको योजनामा बजेट १० करोड कम छ’, उनी भन्छन् ‘अन्य योजनामा पनि छदेखि १० करोड अपुग हुन्छ ।’ यसअघि सुरु गरिएको योजना र अहिले राखिएको नयाँ सम्पन्न गर्न कार्यालयहरुले बजेट अपुग भएको बताएका छन् ।
सिंचाई डिभिजन कार्यालय प्रमुख प्रकाश लम्सालले कार्यालयले चालुबर्ष चार करोड बजेट अपुग हुने बताए । प्रदेश सरकार अन्तर्गतको ११ मध्ये सबै जसो कार्यालयले बजेट अभाव रहेको, साधन स्रोत, जनशक्ति, सवारी साधन नहुँदा काम प्रभावकारी हुन नसकेको गुनासो अर्थ मन्त्री रामजी बरालसँग राखेका थिए ।




