| सोमवार, कार्तिक २३, २०८३

भ्यागुते पहिरोबाट गाउँ बचाऊ

आरुघाट गाउँपालिका ७ (साविक आरुपोखरी)को बानियाँगाउँ र कुँडुलेगाउँ भ्यागुते पहिरोको जोखिममा छ । बिगत २०५२ सालदेखि गएको पहिरोले अहिलेसम्म झण्डै दर्जन घर उच्च जोखिममा परेका छन् । कैयौँ घर चर्किएका, चिरिएका छन् । दुईहजार रोपनीभन्दा धेरै खेत स्थुल खोलाले बगाएर पनि लगेको छ ।

पहिरोले तानेको भूभागमा रहेको बानियाँगाउँ र कुँडुलेगाउँको करिब ६० घर जोखिममा छन् । पहिरोका कारण ज्ञानभूमि आधारभूत विद्यालय, आरुपोखरी सघन ग्रामीण विकास केन्द्रको भवनमा क्षति पुगेको छ भने सार्वजनिक पहिरेधारा, बानियाँधारा, सातबिसेको करिब छसय रोपनी खेत र पाखो गरी करिब दुईहजार रोपनी खेतबारी बगाएको छ ।
भूकम्पपछि बनेका घर पनि क्षतिग्रस्त हुँदा स्थानीयहरु चिन्तित छन् ।

यसअघि सांसद विकास कोषको ३० लाख रुपैयाँबाट तारजाली पर्खाल लगाउने काम पनि भएको हो तर गलत इञ्जिनियरिङका कारण त्यसले थोरै समयका लागि पनि धानेन ।
अहिले स्थानीय खानेपानी योजना, एउटा विद्यालय समेतलाई क्षति पु¥याएको छ । त्यसैले सो पहिरो नियन्त्रणका लागि अत्यन्त अपरिहार्य छ ।
पहिरो नियन्त्रणका लागि स्थानीय नेताहरुको पहल जरुरी छ । नेताहरुले गाउँपालिका, जिल्लास्थित जलाधार कार्यालय, प्रदेशको जलाधार कार्यालय, प्रदेश सरकार, संघ सरकार आदिमा पनि भनसुन पु¥याएर पहिरो नियन्त्रणका लागि पहल गर्नुपर्छ ।
अहिले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपमा परी क्षति भएका धनजनको राहतका लागि जिल्लास्थित प्रकोप(विपत) ब्यबस्थापन प्राधिकरण माताहतको इकाइले पहल गर्ने गर्छ । त्यसमार्फत पनि क्षति भएका संरचना पुननिर्माण र क्षतिन्मुख संरचनाको संरक्षणको काम गर्नुपर्छ ।
यस्ता विभिन्न निकायमा गाउँघरका सर्वसाधारणको सिधै पहुँच हुदैन । स्थानीय राजनीतिक दलका नेतृत्व वर्गले यसमा पहल कदमी लिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्