
तनहुँको छिम्केश्वरीमा केवलकार निर्माण हुने
तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केवलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केवलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केवलकार निर्माण गर्न लागेको हो ।
समुद्री सतहबाट दुईहजार एक सय ३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित केवलकार निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । छिम्केश्वरी माई मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केवलकार निर्माणपछि उक्त संख्या झन् थपिने शर्माले विश्वास व्यक्त गरे ।
छिम्केश्वरी केवलकार परियोजनाको लागत एकअर्ब १० करोड रहने अनुमान गरिएको छ । परियोजनाले छिम्केश्वरीमा रिसोर्टसमेत निर्माण गर्ने लक्ष्य राखेको छ । तीनहजार छ सय मिटर लामो रहने केवलकारले दैनिक १० हजार यात्री बोक्ने क्षमता राख्ने अध्यक्ष शर्माले बताए । केवलकार निर्माणका लागि पृथ्वीराजमार्गको खानीखोलामा २२ रोपनी जग्गा खरिद गरिसकिएको उनको भनाइ छ । थप २५ रोपनी हकभोग गर्दै आएको तर लालपुर्जा नभएका जग्गा नियमपूर्वक गाउँपालिकाको रोहबरमा खरिद गर्ने तयारी गरिएको छ ।
एक हजार आठ सय मिटर पार गरेपछि खर्कमा केवलकारको टूान्जिट स्टेशन रहनेछ । केवलकार निर्माणका लागि सबैखालका अनुमति प्राप्त भइसकेको र डीपीआर बनाउनका लागि सीआरएस इण्डियालाई जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै आईई प्रक्रिया अगाडि बढेको र निर्माण सुरु भएको दुई वर्षभित्र केवलकार सञ्चालनमा ल्याउने बताइएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । विशेष गरी नयाँ वर्ष र होलीको अवसरमा विभिन्न जिल्लाबाट भक्तजन छिम्केश्वरीसम्म पुग्ने गरेका छन् ।
पृृथ्वीराजमार्ग स्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध, माछापुच्छ्रे लगायत हिमाल अवलोकन गर्न सकिन्छ । छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवास समेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयबासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् ।
गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिले जनाएको छ




