
गण्डकीबाट दर्जनौं उम्मेदवार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । तनहुँका स्थायी बासिन्दा पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका हुन् । नेता कृष्णप्रसाद सिटौलानिकट उनी हाल केन्द्रीय सदस्य छन् । पौडेलसँगै देउवाकै प्यानलबाट प्रकाशशरण महत पनि महामन्त्रीका उम्मेदवार छन् भने सभापति उठेका प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार छन् । गगन थापा र मिनेन्द रिजाल भने शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी छन् ।
स्याङ्जाका धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । संविधान सभा सदस्य उनले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् । देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजय गच्छदार उपसभापतिको उम्मेदवार छन् । गुरुङले उनीहरुसँगै प्रकाशमान प्यानलकी उम्मेदवार सुजाता कोइरालासँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
पोखरा नेता देवराज चालिसले सहमहामन्त्री पदका लागि उमेदवारी दर्ता गराएका छन् । उनले नेता शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीका लागि उमेदवारी दर्ता गराएका हुन् । उनी गण्डकी प्रदेश समिति सभापतिका आकांक्षी थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की २ का उम्मेदवार उनी एमालेका रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । चालिसे खसआर्य क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सोही क्लस्टरमा किशोरसिंह राठौरले पनि उम्मेदवारी दिएका छन् । चालिसेको प्रतिस्पर्धा उनीसँग हुनेछ ।

सहमहामन्त्रीमै महिला कोटामा गोरखाकी नेतृ कमला पन्तले उम्मेदवारी दिएकी छन् । पन्तको प्रतिस्पर्धा डिना उपाध्यायसँग हुने भएको छ । जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले ८ जना महामन्त्रीमध्ये दलित क्लस्टरमा उम्मेदवारी दिएका हुन् । सभापतिमा शेखर कोइरालाको प्यानलबाट उनले उममेदवारी दिएका छन् । संविधान सभा सदस्य परियार २०७४ सालको कास्की १ को कबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए । तर वाम गठबन्धनका नेता दीपक कोइरालासँग परियार पराजित भएका थिए । जीवनले उम्मेदवारी दिएको पदका लागि उनले मानबहादुर विश्वकर्मासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेस विधानअनुसार ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा १ सय ९ जना, ९ जना निर्वाचित हुने महिला केन्द्रीय सदस्यमा ३१ जना, प्रदेशतर्फको २१ जना केन्द्रीय सदस्यका लागि ६४ जना, समावेशीतर्फको ५४ केन्द्रीय सदस्यका लागि २ सय ८३ जनाको उम्मेदवारी परेको छ । १–१ जना निर्वाचित हुने अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना र अपांगता भएका व्यक्तितर्फ १६ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ । अपांगता भएका व्यक्तितर्फ केन्द्रीय सदस्यमा तनहुँका प्रकाश पन्थले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा रगत र पसिना बगाउने अग्रज पुस्ताको योगदानको कदरका लागि आफूले उम्मेदवारी दर्ता गराएको मुख्यमन्त्री पोखरेलले बताएका छन् । उनले भनेका छन्, ‘युवा पुस्ता र पुराना पुस्ता बीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाइलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न मैले उम्मेदवारी दिएको हो । गण्डकी प्रदेशबाट ३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेमा ७ जनाको उम्मेदवारी परेको छ ।
कास्कीका नेता यज्ञबहादुर थापा, महादेव गुरुङ, लक्ष्मी पाण्डे, माया बराल, नम्रता बराल, सुनयना पालिखे, ऋषि काफ्ले, गुरु बराल, निर्मल कर्माचार्य केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । महादेव, गुरु, निर्मल, ऋषि र यज्ञले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । महिलाहरुले महिला कोटामा उम्मेदवारी दिएका हुन् । स्याङ्जाका गोपालमान श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा र चम्पादेवी खड्का, तनहुँका ध्रुव पाण्डे, शंकर भण्डारी, रामचन्द्र पोखरेल र गोविन्द भट्टराई, गोरखाका राजेन्द्र बजगाईं, सुरेन्द्र पाण्डे लगायत पनि केन्द्रीय सदस्यका उम्मेदवार छन् । गण्डकी प्रदेशको नवलपुर जिल्लाबाट मधेसी कोटामार्फत महाधिवेशन प्रतिनिधि जितेका उद्योगी विनोद चौधरीले मधेसी कोटामै केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । गोरखाबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा १२ जनाले उम्मेद्वारी दिएका छन् ।
पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले भने कुनै पदमा पनि उम्मेदवारी दिएनन् । यसअघिको महाधिवेशनमा रानाभाट केन्द्रीय सदस्यमा पराजित भएका थिए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभापतिका तीव्र आकांक्षी थिए । त्यतिमात्रै होइन उनी टिमको नेतृत्वसमेत गर्थे । बेला बेलामा देउवाले गरेका कामको खुलेर आलोचना गर्न सक्ने हैसियत पनि राख्थे ।
तर उनै पौडेल कांग्रेसको १४औँ महाधिवेशनको दौडबाटै बाहिरिए । उनले आफू कुनै पनि गुटमा नलागी राजनीतिबाट टाढा रहने बताउँदै आएका थिए । उनले सभापतिमा उम्मेदवारी दर्ता गराएनन् । टिमभित्रको दबाबले गर्दा अहिले कुनै पनि पदमा उमेदवारी नदिने पछि निर्णय गर्ने गरी पौडेल थामिएका छन् । उनले आफ्नो टिमबाट एकजनामात्रै उमेदवार हुने सर्त कायम राखिरहे । त्यसमा केही लचिलो डा. शेखर कोइराला भए पनि प्रकाशमान सिंहको अडान भने कायमै रह्यो ।
वरिष्ठ नेता पौडेल मतदान प्रक्रियामा सहभागी नहुने भएका छन् । नयाँ नेतृत्वको प्रतिस्पर्धामा सहभागी नहुने घोषणा गरेका पौडेलले कांग्रेसको जारी निर्वाचन अन्तर्गत हुने मतदान प्रक्रियामा सहभागी नहुने भएका हुन् ।
पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार यो निर्णयसँगै उनी महाधिवेशनमा कुनै गतिविधिमा संलग्न हुने छैनन् । पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै भने, ‘मैले कांग्रेसलाई जुनरुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेस विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बिपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेसलाई आज केवल सत्ताको भ¥याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’ सावार : सामाधान बाट




