| सोमवार, कार्तिक २३, २०८३

गोरखाका वाङचुकले तेस्रो पटक पनि पाए कोभिड हिरो अवार्ड


उत्तरी गोरखा, छेकम्पारका वाङचुक राप्तेन लामा बोस्टर मिडिया कोभिड हिरो अवार्डबाट सम्मानित भएका छन् । बोस्टरर्ड मिडिया प्रालिले शुक्रबार राजधानीमा आफ्नो नवौँ बार्षिक उत्सव समारोहको अवसर पारेर लामालाई कोभिड हिरो अवार्डले सम्मान गरेको हो ।


समारोहमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लामालाई कोभिड हिरो अवार्ड घोषणा गर्दै पदक तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेकी हुन् ।


कोभिड १९ को महामारीका बेला अति दुर्गम भेगहरुमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टेटरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको, अति विपन्न समुदायलाई राहत सामग्री वितरण गरेको भन्दै लामालाई कोभिड हिरो अवार्ड प्रदान गरिएको बोस्टर मिडियाले जनाएको छ ।


उनले किमोलुङ फाउण्डेशन नामक सामाजिक संस्थामार्फत उत्तरी गोरखाका अति विकट क्षेत्रमा हेलिकोप्टर चार्टर गरी स्वास्थ्य सामग्री वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । साथै राजधानीमा कोभिडको महामारीका बेला खाना शिविर सञ्चालन गरेका थिए । त्यस्तै कोभिड व्यवस्थापनमा अग्रभागमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुलाई मास्क, थर्मलगन, सेनिटाइजर, पिपिईसेट, सावुनलगायत सामग्री प्रदान गरेका थिए ।


बाढी पहिरो, डुबानको चपेटामा परेका देशका तराई, पहाड, हिमाली क्षेत्रमा पुगेर र सेवा प्रदान गर्ने गरेका थिए ।


यसअघि दुई पटकसम्म उनले कोभिड हिरो अवार्ड पाइसकेको थिए । पहिलो पटक राष्ट्रिय नागरिक विकाससमाजले पूर्व अर्थमन्त्री रामशरण महतमार्फत कोभिड हिरो अवार्ड प्राप्त गरेका थिए । त्यस्तै दोस्रो पटक इन्टरटेनमेण्ट संस्थाले तत्कालीन मन्त्री रामवीर मानन्धरमार्फत कोभिड हिरो अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्