बनिसकेको पुल किन सुचारु हुदैन ?
चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका ६ जोड्ने त्रिशुलीमाथिको मोटरेबल पुल निर्माण सम्पन्न भएको तीन महिना पूरा भयो । तर अहिलेसम्म पनि सञ्चालन गरिएको छैन ।
बनिसकेको पुलमाथि लामो समयदेखि छेकबार लगाएर राखिएको छ ।
स्थानीयबासीलाई सुविधा होओस् भनेर सरकारले ढुकुटीको करोडौँ रुपैयाँ खर्चेर पुल बनाएको हो । तर सो पुल सञ्चालनमा नआउँदा त्रिशुली तर्नुपर्ने सवारी चालकहरु झण्डै ३० किलोमिटर पर घुमेर बेनिघाट पुग्न बाध्य छन् ।
मोटरसाइकल त जोखिम मलेर झोलुंगे पुलबाट वारपार गर्छन्, तर चार पांग्रे सवारी साधन पुल तर्न बेनिघाटबाट तल फिस्लिङसम्म कतैपनि पुल छैन । सो पुलभन्दा तल(फिस्लिङभन्दा तल) गोरखाबाट राजमार्ग जोड्ने गरी एउटै पनि पुल छैन । त्यसैले यो पुलको धेरै महत्व छ । सो पुल यदि सञ्चालनमा आयो भने विशेषगरी गोरखाको गण्डकी गाउँपालिकाका सबै वडा र शहीदलखन गाउँपालिकाको वडा नं. ४ र ५ का बासिन्दाले प्रत्यक्ष लाभ पाउँछन् । घैरुङ बतासे, ताक्लुङ, फुजेल, दर्बुङ(दलभञ्ज्याङ) लगायतका क्षेत्रका बासिन्दालाई गाडीको बाटो राजमार्ग जोड्ने बाटो पनि यही हो ।
गण्डकी र शहीदलखन गाउँपालिकामा पर्ने सो क्षेत्रमा असाध्यै धेरै तरकारी तथा फलफूल खेती हुन्छ । त्यहाँको कृषि उपज बिक्रीका लागि फिस्लिङ बजारमा ल्याइन्छ । फिस्लिङ बजारमा कृषि उत्पादन किनबेच गर्नेको काठमाडौँको कालिमाटी बजारजत्तिकै भीडभाड हुन्छ । यति ठूलो कृषिजन्य उत्पादन मोटरेबल पुलको अभावमा स्थानीय किसानहरु बजारसम्म पु¥याउन अहिले पनि डोकोमा बोकेर राजमार्गसम्म आउन बाध्य छन् ।
यति धेरै महत्व बोकेको फिस्लिङ पुल अहिलेसम्म सञ्चालनमा छैन । कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारे पनि कुनै जानकारी छैन ।
ठेकेदार कम्पनीको लापार्बाहीका कारण पुल खुल्ला नगरिएको हो । तत्काल ठेकेदारलाई फलो गरी पुल सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ




