२२० केभीए विद्युत प्रशारण लाइनको बिकल्प चाँडो अपनाऊ
मनाङको धारापानीदेखि चितवनको आँपटारीसम्म तानिने २२० केभीए विद्युत प्रशारण लाइन बिस्तारको काम बिगत छ बर्षदेखि सम्पन्न हुन सकेको छैन । तीनबर्षअघि पालुङ्टारमा आएर रोकिएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन बिस्तारको काम अहिलेसम्म अघि बढ्न नसकेको हो ।
स्थानीयबासीले पालुङटारको बस्ती क्षेत्रबाट प्रशारण लाइन तान्न नदिएपछि काम रोकिएको हो । बस्ती क्षेत्रभन्दा बाहिर कतै बैकल्पिक बाटो अपनाउन स्थानीयबासीको आग्रह छ । पूर्व प्रधानमन्त्री, प्रतिनिधिसभा सांसद, प्रदेशसभाका मन्त्री, सांसद, नगरपालिकाका मेयर, उपमेयर वडाअध्यक्षहरु, सहरी विकास मन्त्रालयका सचिव, उर्जा मन्त्रालय सचिव, विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ, चासो राख्ने सरोकारवाला आदिको संयुक्त बैठकले बिकल्प खोज्ने निश्कर्ष निकालेको थियो । त्यसका लागि कार्यदल गठन पनि गरेको थियो ।
तर पालुङ्टारस्थित करिब छ किलोमिटर खण्डको १० वटा टावर निर्माण गर्ने काम बिकल्प खोजेर काम अघि नबढाई २०७५ को माघ महिनादेखि ठप्प भएको हो । मस्र्याङ्दी किनारको बाटो बिस्तार गर्दा एयरपोर्टले डिस्टर्ब गर्ने, बजारबाट विस्तार गर्दा बस्ती क्षेत्रले डिस्टर्ब गर्ने हुँदा लिगलिगकोट भन्दा पछाडिबाट बिस्तार गर्ने बारे पनि छलफल भएको हो तर कुनै पनि कार्यान्वयन नभएको हो ।
मनाङको धारापानीबाट चितवनको भरतपुरस्थित न्यु भरतपुर सबस्टेशनसम्मको ६७ किलोमिटर विद्युत प्रशारण लाइन २०२० भित्र सम्पन्न गर्ने गरी २०१७ जनवरीदेखि टेण्डर भएर काम सुरु गरिएको थियो । सो कार्यक्रमका लागि युरोपेली इन्भेष्ट बैंकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्राप्त भएको थियो ।
तर योजना अनुसार काम नभएको हो । योजनाअनुसार काम गर्नका लागि दबाब दिनु पनि आवश्यक छ । त्यसका लागि प्राधिकरणको केन्द्रसम्म दबाब सिर्जना गर्नुपर्छ ।




