| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा कर्बडहल निर्माण सुरु

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा कबर्डहल निर्माण सुरु भएको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बुधवार एक कार्यक्रमका बीच कबर्डहलको सिलान्यास गरेका हुन् ।

कबर्डहलको सिलान्यास गर्दै अध्यक्ष दाहालले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको र निरोगी वनन, शारीरिक तन्दुरुस्ती कायम गर्न पनि खेलले मद्धत पुग्ने बताए । साथै उनले कबर्डहल निर्माण छिटो सम्पन्न गर्न र संरक्षणमा पनि ध्यान दिन स्थानीयलाई अनुरोध गरे ।

वडाको प्रस्ताबमा गाउँपालिकाको १२ लाख र स्थानीय युवाहरुको सक्रियतामा थप रकम जुटाईने निर्माण समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । ‘करिब २५ लाख लाग्ने अनुमान गरेका छौँ’, उनले भने, ‘एक महिनाभित्र काम सक्ने योजना छ ।’ अपुग रकम स्थानीयले आफैँ जुटाउने तयारी गरेका छन् ।

कोरोना प्रभावका बेला घर भित्रै थुनिएर बस्दा स्वास्थ्यमा समस्या भएको, शारिरिक कसरत गर्ने ठाउँको अभाव खड्किएपछि कबर्डहल वनाउने योजना वनेको उनले बताए । ‘इन्डोर खेलकुद भयो भने प्रतिकूल मौसमका बेला पनि सबैले खेल्न सक्ने र स्वस्थ वननका लागि पनि मद्धत पुग्छ’ उनले भने ।

आरुघाट गाउँपालिका १० मा कबर्डहल छ तर ९ नम्बरमा नभएकाले त्यहाँका स्थानीयको मागको आधारमा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष दिलबहादुर रोका, इलाका प्रहरी प्रमुख सन्तकुमार लामा लगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्