| सोमवार, कार्तिक २३, २०८३

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी अनुशिक्षण कार्यक्रम सुरु

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय गोरखाको समन्वयमा कार्यक्रम भएको हो ।

जिल्लाका प्रत्येक स्थानीय तहको सुधारात्मक पक्षहरूको पहिचान गर्दै समग्र सेवा प्रवाह प्रक्रियालाई जवाफदेही, पारदर्शी, उत्तरदायी बनाउँदै सुशासनलाई अनुभूति गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको मर्म तथा भावना अनुरुप स्थानीय तहहरुको समग्र कार्य सञ्चालन अवस्थाको विश्लेषण लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ जारी गरेको छ ।

कार्यक्रमबाट सम्बन्धित विषयगत क्षेत्रहरूमा गरिएको नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत प्रत्येक स्थानीय तहको संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न मद्धत पुग्ने जनाएको छ ।

यसका लागि यस कार्यविधिले समग्र स्थानीय तहहरूको तुलनात्मक अध्ययन गर्नेछ र स्थानीय तहमा संघीय सरकार र प्रदेश सरकारबाट जाने अनुदानमा समेत प्रभाव पार्न सक्ने देखिन्छ । गोरखाका ११ स्थानीय तहका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा मंगलबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्