
कन्तबिजोक बाइकको कंकालको रहस्य(फोटो फिचर)
शिव उप्रेती
सदरमुकामको आयुर्वेदिकचोकमा देउराली मोटरसाइकल वर्कसप छ । वर्कसपको आँगनमा एउटा जीर्ण बाइक छ । बाइकको शीरमा पनि टायर छ, पुच्छरमा पनि टायर छ तर हुनुपर्ने ठाउँमा टायर छैन ।

हिउँद–बर्खाको घामपानी खाएर यो बाइक यहाँ ठडिएको जो कोहीको नजर पर्छ तर रहस्य कमैलाई मात्र थाहा छ ।
त्यसभन्दा दुईघरमाथि विजय मोटरसाइकल वर्कसप छ । त्यसको आँगनमा अर्को बाइकको कन्तविजोक छ । त्यो बाइकको कंकालमा न साइडलाइट, न हेडलाइट । न मिरर, न त टायरमा हावा ।

यो बाइक यहाँ उभिएको आठ बर्ष भयो । कंकाल मात्र बाँकी रहेको यो बाइकको कथा पनि रोचक छ । वर्कसपका सञ्चालक विजय ठाकुरका अनुसार श्रेष्ठ थरका एकजनाले बाइक बनाउन ल्याए । मिस्त्रीले धेरै मिहिनेत गरी मुस्किलले बाइक बनाए । तर बाइकधनी बाइक लिन फर्केनन् । दिनभर घरबाहिर निकाल्ने, राती भएपछि घरभित्र राख्ने । भित्र र बाहिर सार्दासार्दै तीनबर्ष बित्यो, तैपनि बाइकधनी नफर्केपछि उनले बाइक बाहिरै छोडिदिए । ‘अब आयो भने दिन गनेर भाडा लिन्छु’, उनी भन्छन् ।

गोरखा बजारको ‘प्रतीक्षालयचोक’ भन्दा तलका एकदुई घर बिराएर प्राय घरहरुमा यस्तो दृश्य देख्न सकिन्छ । ‘किन राखिन्छन्, कन्तबिजोक बाइकका कंकाल ?’
‘यो त हाम्रो साइनबोर्ड हो नि !’, बिगत २४ बर्षदेखि गोरखामा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका विजय ठाकुर भन्छन्, ‘यसले यहाँ मोटरसाइकल मर्मत हुनेरहेछ भन्ने संकेत गर्छ ।’

प्राय थोत्रा बाइक बनाउन ल्याउनेहरु बाइक लिन नआएपछि राख्दाराख्दै बाइक यसरी थोत्रिन्छन् । ‘खटारो बाइक बनाउन ल्याउँछन् । उनीहरुसित अग्रिम भुक्तानी लिएर बाइक बनाउने कुरा पनि आउँदैन । आफ्नै खर्च लगाएर बनाऔँ भने पछि लिन आउँदा अलिकति पैसा दिएर लैजान्छन्, फेरि फर्केर आउँदैनन् । उनीहरु सम्पर्कमा नआएपछि यत्तिकै बाइक गलेर बस्छ’, आरएस मोटरसाइकल वर्कसपका राजन विक भन्छन् ।
गोरखा बजारमा आजसम्म १८ वटा मोटरसाइकल वर्कसप छन् । उनीहरु बीच अस्वस्थ प्रतिस्पर्धा बढेसँगै खटारो बाइक मर्मतका सन्दर्भमा धेरै विकृति बढ्दै गएको छ । ‘धेरै कम अनुमान गरेर खटारो बाइक बनाउने जिम्मा लिन्छन् । बनाउँदा बनाउँदै दोब्बर लागत उठ्छ । अनि धेरै पैसा माग्छन् ।

त्यसपछि मोटरसाइकलवाला गायब हुन्छन्’, विजय ठाकुर भन्छन्, ‘सुरुमा सस्तोमा बनाइदिने लोभ देखाएर पछि कुरा फेर्नुपर्दा एकातिर ग्राहकले ठगिएको महशुस गर्छ, अर्कातिर मोटरसाइकलवाला भागिदियो भने ब्यबसायीलाई सिधै घाटा पर्छ ।’ ग्राहक लोभ्याउन कच्चा व्यवसायीले व्यवसाय नै बद्नाम गरिरहेको उनको भनाइ छ ।




