
बारपाक सडक बर्षेनी सुध्रिँदो भन्दा बिग्रिँदो
भूकम्पले क्षतविक्षेत भएपछि स्थानीयबासीलाई सान्त्वना दिन बारपाक पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र बारपाकलाई कालोपत्रे सडकले जोडिदिने आश्वासन दिएका थिए । छ बर्ष बितिसक्दा पनि बारपाक सडक कालोपत्रे नभएपछि प्रधानमन्त्रीको आश्वासन झुठो सावित भएको छ ।
गोरखाको बारकिलोदेखि बारपाक जोड्ने ४६ किलोमिटर सडक स्तरोन्नति गर्ने काम अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्र प्रगति भएको सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञावली बताउँछन् । ‘जति सम्पन्न भएको छ, त्यो पनि बायोइञ्जिनियरिङका दृष्टिले पनि बेठिक छ, सडक सुरक्षाका हिसाबले पनि बेठिक छ’, उनी भन्छन्, ‘अहिले सबैतिर कम्तिमा दुईलेनको सडक बनेका छन्, तर यहाँ त्यो पनि छैन ।’ राङरुङदेखि मान्द्रेसम्म उकालोको सडक ग्रेडिङ, घुम्तिलगायतका इञ्जिनियरिङ नमिलेको उनले बताए ।
सो सडक स्तरोन्नतिका लागि एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले चार वटा प्याकेज बनाएर ठेक्का आव्हान गरेको थियो । जसमध्य अहिलेसम्म २२ किलोमिटरदेखि ३० किलोमिटर खण्डमा ७५ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवास गुरुङले जानकारी दिए ।
‘आठ किलोमिटरमध्य सुरुको पाँच किलोमिटरमा ‘फस्र्टकोट’ सुरु भएको छ’, उनले भने, ‘३० किलोमिटरदेखि ४६ किलोमिटर खण्डको पहिलो छ किलोमिटरमा डबलकोट भएको छ ।’ सो खण्डमा जम्मा ६७ प्रतिशत प्रगति भएको उनले बताए ।
ठेकेदारको लापाबार्ही र कार्यालयले कडाइ नगर्दा अहिले पनि बारपाकबासी बर्खाका बेला यातायात सेवाबाट बञ्चित छन् ।
सरकारले बारपाकबासीको आँखामा पटक पटक छारो हाल्ने काम गरिरहेको स्थानीयबासीको गुनासो छ । ‘भूकम्पले गर्दा जे नहुनु भइहाल्यो । अब बाँचेकाहरूको पीडा भुलाउन राज्यले केही सुविधा दिनुपर्छ भन्ने हाम्रो माग थियो ।
तत्कालीन प्रधानमन्त्रीबाट दुई वर्षभित्र बारपाकसम्म पिच सडक आउने आश्वासन पायौं’, जीतबहादुर घले भन्छन्, ‘प्रधानमन्त्रीले बोलेको कुरा त पक्का पुग्छ होला भनेर हामीले आँसु पुछ्ने प्रयास गरेका थियौं । तर छ बर्ष बितिसक्यो अहिले पनि बारपाकमा बर्खाका बेला गाडी चल्दैन ।’
गोरखादेखि बारपाकसम्मको ४६ किलोमिटर सडक कालोपत्रे गर्न सडक विभागले ६५ करोड रुपैयाँको ठेक्का गरेको थियो । २० बर्षअघिदेखि निर्माण सुरु गरिएको सो सडक निर्माण तथा स्तरोन्नतिका लागि २०६५ सालमा एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक नामको सडक योजना कार्यालय नै स्थापना गरेर काम गरिएको थियो । अलग्गै कार्यालय स्थापना भएर काम गरेको पनि दसक बितिसकेको छ तर सडक भने बर्षेनी सुध्रिँदो भन्दा बिग्रिँदो अबस्थामा छ ।




