साक्षर जिल्लामा आमाहरु स्कूल भर्ना
हरेक बिषयका सकारात्मक, नकारात्मक पाटा र पक्ष हुन्छन् । सकारात्मकको वजन धेरै कि नकारात्मकको धेरै भन्ने कुराले कुन अवलम्बन गर्ने निर्धारण गर्छ ।
बिषय हो, गोरखामा अनौपचारिक शिक्षा हटेपछि पैदा भएको बेफाइदाको । पूर्ण साक्षर नहुँदै गोरखा दुईबर्षअघि साक्षर जिल्ला घोषणा भयो । ‘प्रसस्त निराक्षर हुँदाहुँदै किन साक्षर जिल्ला घोषणा गर्ने ?’ भन्ने सवालको जवाफमा तत्कालीन शिक्षा अधिकारीले ‘पोष्ट लिटरेसी कार्यक्रम भित्र्याउन’ भन्ने जवाफ दिएका थिए ।
तर अहिले न पोष्ट लिटरेसी कार्यक्रम आयो, न निरक्षरहरु साक्षर हुन पाए । पोष्ट लिटरेसी कार्यक्रम आए पनि साक्षरहरुलाई थप ज्ञान दिने कार्यक्रम आउथ्यो, निरक्षरलाई साक्षर बनाउने कार्यक्रम त आउँदैनथ्यो ।
त्यसैको परिणति हो, अहिले आमा, हजूरआमाहरु विद्यालयमा भर्ना भएर पढ्न थालेका छन् । सदरमुकामको बालमन्दिर माविमा नौ जना आमा, हजूरआमाहरु नाति(नातिनासित मिलेर पढिरहेका छन् । शिक्षाको उच्च महत्व महशुस गरेर पढ्न थालेको उनीहरुको भनाइ छ । साथै प्रौढ कक्षा पढ्न नपाएकाले विद्यालयको औपचारिक कक्षामा भर्ना हुनु परेको उनीहरुको भनाइ छ । नाति नातिनासित मिलेर पढ्न असजिलो भएको छ । समाचारका हेडलाइन बन्दा असजिलो लागेको छ, तर साक्षर बन्ने ध्येयले सबै असजिलाहरु पचाएर पढिरहेका छन् ।
यदि गाउँटोलमा प्रौढ कक्षा सञ्चालन भएको भए उनीहरु अक्षर चिन्नकै लागि झोला बोकेर विद्यालय जाँदैनथे । विद्यालय गएर पनि धेरै नजात्ति भएको होइन, मात्रै, प्रौढ(प्रौढ मिलेर पढ्दा जति सहज हुन्थ्यो, नाति नातिनासित मिलेर पढ्दा असजिलो खेप्नु पर्दैनथ्यो । साथै दिनहूँ फोटो खिच्न आउनेहरुको बिषय बन्नु पर्दैनथ्यो ।
तसर्थ साक्षर जिल्ला भए पनि निरक्षरहरुलाई सम्बोधन हुने गरी साक्षरता कक्षा चलाउनु अति जरुरी छ ।




