
गोरखा र छुट्टै जिल्ला मागको सान्दर्भिकता
गणेश कार्की
सिँगो नेपाल निर्माणको उद्गम जिल्ला भनेर चिनिने ऐतिहासिक गोरखा जिल्ला आफ्नै देशभित्र मात्र होइन विश्वमा चीर–परिचित छन् । विशाल नेपालको जग, पृथ्वीनारायण शाहको जन्मथलो, शहिद लखन थापा मगर, अमरसिँह थापा, कालु पाण्डे, विर झागल गुरुङ, सरदार बशु गुरुङ लगायत हजारौँ वीर सपुतहरुले गोरखाको नाम इतिहासको पानामा स्वर्ण अक्षरले चम्काइरहेका छन् ।
इतिहासमा मात्र होइन, वर्तमानमा पनि गोरखाको नाम चम्काउने होनाहार नेता र नेतृत्वको सूचीमा छन्, डा. बाबुराम भट्टराई । जसले गोरखा मात्र नभै हिमाल, पहाड, तराईमा लोकप्रियताको शिखर चुमिरहेका छन् ।
जम्मा क्षेत्रफल ३,७१० बर्ग किमी फैलिएको गोरखा जिल्ला देशमा राणा, प्रजातन्त्र, पन्चायत, बहुदलीय व्यवस्था हुदै संघीय लोकतात्रिक गणतन्त्रसम्म ९ वटा गाउँपालिका र २ वटा नगरपालिका, २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रमा विभाजित हुन पुग्यो । जम्मा क्षेत्रफल ३,७१० बर्ग किमीको ५५१ बर्गकिमी क्षेत्रफल धार्चे र १,६४९ बर्ग किमी क्षेत्रफल चुमनुब्री गाउँपालिकाले ओगटेको छ ।
जम्मा २,२०० बर्गकिमी क्षेत्रफल भएको गोरखा जिल्लाको उत्तरी बेल्टमा पर्ने चुमनुब्री अति दुर्गम गाउँपालिका हुन् । अन्य बाँकी ७ वटा गाउँपालिका र २ वटा नगरपालिका जोड्दा २,११० बर्गकिमी क्षेत्रफल हुन आउँछ । यी दुई गाउँपालिकाको क्षेत्रफल अन्य बाँकी गाउँपालिकाको क्षेत्रफल भन्दा करिब २ गुना बढी क्षेत्रफल छन् ।
हिमालदेखि पहाडसम्म फेलिएको यी दुई गाउँपालिका हरेक क्षेत्रमा पछाडि परेका छन् । राजनैतिक र आर्थिक विकासको रुपमा पछाडि परेका यी दुई गाउँपालिकाको जनजीवन अझै १९ औँ शताब्दीको जीवन जिउन बाध्य छन् । हप्तौँ हिडेर सरकारी सेवा लिन बाध्य यो ठाउँका जनताहरु अझैँ ढुङ्गे युगमा झैँ गरी र लहरको भरमा यात्रा गर्नुपर्ने, बिरामी हुँदा डोकामा बोकिएर उपचारको निम्ति जानुपर्ने बाध्यता अझै यहाँ छ ।
सडक छैन, संचार सेवा छैन । भरपर्दो बिजुलीको पहुँचबाट टाढा रहनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका निम्ति आफ्नो जन्म थलो छोड्नु पर्ने बाध्यतामा यहाँका बासिन्दा छन् । कृषि उत्पादनका नाममा आलु, गहुँ र मकै, कोदो तीन महिनाको उत्पादमा भर पर्नुपर्ने, आदि अबस्था यहाँ छ ।
त्यसैकारण यो ठाउँका जनताको जनजीविका अति नै कष्टकरमा छन् । राज्यको दृष्टिमा खासै पटक्कै पुग्न सकेको छैन । हिमालपारिको गाउँको रुपमा चिनिने यो ठाउँका बासिन्दा बादलमा हराएको कौवा जस्तै छन् । यो ठाउँ दुर्गम र विकट भएता पनि आफ्नै विशेषताहरु बोकेका छन् । चीनसँग दुई नाका लार्के र छेकम्पार छोडिएको, ८,१६३ मिटर अग्लो विश्वको आठाँै अग्लो मनास्लु हिमाल, ६ हजार मिटर भन्दा
माथिका प्रशस्त अरु गणेश हिमाल, बौद्ध हिमाल, श्रृङ्गी हिमाल, चपा हिमाल, पिक–२९ र अन्य नाप नखुलेका दर्जनौ हिमालहरु यहाँ छन् ।
प्राचीन कालदेखि ऋषिमुनिहरुको तपोभूमिको रुपमा तपस्या गरेका प्राचिन गुम्बाहरु, मनास्लु संरक्षण क्षेत्रद्वारा संरक्षित कस्तुरी मृग, यार्सागुम्बा लगायत १५० वटा भन्दा बढी प्रजातिका जडीबुटी र २ हजार मेगावाट भन्दा धेरै क्षमताको जल विद्युत आयोजनाको सम्भावना बोकेको बुढीगण्डकी यस क्षेत्रमा रहेका देशका अथाहा सम्भावना बोकेका सम्पतिहरु हुन् । उनीहरु यस्ता महत्वपूर्ण सम्पदा रहेको ठाउँमा राज्यले किन यसको महत्व बुझ्दैन ? यहाँका जनताको अवस्था गरिबीको रेखामुनि छन् ।
देशभर यत्रो परिवर्तन हुँदा पनि चुमनुब्री र धार्चेमा किन विकासको मूल फुट्न सकेन् । भौगोलिक, आर्थिक, शैक्षिक, स्वास्थ्य लगायत सबै कुरामा पछाडि छन् । अहिलेसम्म प्लस टु विद्यालय खोलिएको छैन । यहाँका मानिसहरु सरकारको उच्च तहमा पुगेको रेकर्ड छैन । सदन र सरकारमा अहिलेसम्म प्रतिनिधित्व भएको छैन । हरेक अवसरबाट बञ्चित छन् ।
राज्यको बेवास्तामा परेका उत्तरी गोरखाका बासिन्दा भाग्यको दोष जस्तै ठानेर बस्न बाध्य छन् । के हामी भाग्यलाई सराप्दै बस्ने र हरेकमा प्रतिस्पर्धा गर्दा जनसंख्याको आधारमा यहाँका मानिसहरुले कहिल्यै सदन र सरकारको प्रतिनिधित्व गर्न पाउँदैनन् ? के यो देशमा जनताको सरकार छैन ? पञ्चायतकाल, बहुदल र संघीय लोकतान्त्रिक, गणतन्त्रसम्म आइपुग्दा उत्तरी गोरखाका बासिन्दाहरुले आफुहरुको पनि यो देशको सदन र सरकारमा प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज नउठाएको पनि होइन ।
पञ्चायत कालमै लार्के जिल्ला हुनुपर्छ भन्दै माग भई जिल्ला छुटाउने अन्तिम चरणमा पुगिसक्दा पनि तल्लो भेगका केही जाली फटाहरुको जालझेलको कारण छुट्टै जिल्ला बनाउने अभियान रोकिन पुगेको हो । २०४६ सालको बहुदलीय जनआन्दोलन होस् या २०७२÷०७३ को लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा होस्, वा जनयुद्ध र संयुक्त जनआन्दोलनमा होस् यो ठाउँको जिल्ला छुटाउने मुद्धा उठ्दा उठ्दैँ पनि ओजेलमा पारियो ।
सबै कुराको समस्याको समाधान आफ्नो ठाउँको नेतृत्व प्रदेशसभा र प्रतिनिधित्वमा नभएसम्म यहाँको वर्तमान जनताहरुको समस्या समाधान नहुने रहेछ भन्ने कुरा प्रष्ट हुन पुगेको कारण यहाँका जनताहरुको एउटै माग आफ्नो प्रतिनिधित्व हुने गरी विशेष क्षेत्र, स्वयत्त क्षेत्र, वा छुट्टै जिल्ला हुन पुगको छ ।
त्यस कारण राज्यले यहाँको समस्या बुझी तुरुन्तै नयाँ प्रशासनिक एकाई खडा गरियोस् भनी चुमनुब्री र धार्चेको जनताहरुको एकमुष्ट माग छ । यसमा जसपा संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पूर्ण समर्थन अभिव्यक्रिलाई पनि धन्यवाद र सबै राजनीतिक पार्टीले यो मागलाई समर्थन गरी छुट्टै जिल्ला बनाउन सहयोग गरुन् । धन्यवाद ।




