| सोमवार, कार्तिक २३, २०८३

लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखा नगरपालिका वडा नं १० विरेन्चोकमा लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम भएको छ । सामाजिक विकास कार्यालय गोरखा र मस्र्याङ्दी बचत तथा ऋण सहकारी संस्थाका समन्वय तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन तथा समन्वय समिति गोरखाको आयोजना र सोच नेपालको आर्थिक सहयोगमा महिला हिंसा विरुद्धको छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परिवारले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवधारणा प्रस्तुत गरेका थिए । सामाजिक दृष्टिकोणमा परिवर्तन आउन नसक्दा महिलाहरु गर्भ देखि चिहान घाटसम्म विभेद भोग्नु परेको समेत उनले बताए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले लैङ्गिक हिंसा, कानुनी व्यवस्था, चुनौती र न्यूनीकरणका उपायहरुका बारेमा प्रस्तुकीकरण दिएका थिए । अशिक्षित, परमपरागत रुढीबादी र महिलालाई स्रोत, साधन, सम्पति र पहुँचबाट बन्चित गरिँदा समाजमा महिला हिंसाका घट्ना बढ्दै गएको दाहालले बताए ।

महिला हिंसा न्यूनीकरणका लागि महिला आपैm सचेत हुनुपर्ने, राज्य र सरोकारवाला निकायहरुले परिणाममुखी योजना र कार्यक्रम ल्याउनुपर्ने र महिला हिंसा विरुद्ध सशक्त कारवाही अभियान चलाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सम्बोधन गर्दै एसपी शेखर खनालले महिला माथि हुने हिंसा जघन्य अपराध भएको बताए । महिला हिंसा न्यूनीकरणका लागि राज्यले कानुन कडा बनाए भएता पनि महिला हिंसा दिनानु दिन बढ्दै जानु चिन्ताको विषय भएको बताए । महिला हिंसा घरबाटै न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

मस्र्याङदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरिता नेपालीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, एसपी खनाल, डिएसपी दाहाल, नेपाल रेडक्रस गोरखा शाखाका उपसभापति भिमलाल श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, नगरपालिका न्यायिक समितिका सदस्य सावित्री थापा लगायले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्