
तिब्बत तर्फको नाका र बाटो खुलाउन पहल गरिरहेको छु : मुख्यमन्त्री पोखरेल
उत्तरी गोरखाको समस्या समाधान गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखामा शनिबार कार्यालय प्रमुखहरु सँगको भेटमा पोखरेलले उत्तरी गोरखाको समस्याको बिषयमा सरकार संवेदनशिल रहेको बताए ।
चुमनुब्री गाउँपालिकाको लोक्पामा पहिरो जाँदा छेकम्पार र चुम्चेतका स्थानीयहरु खाद्यान्न ढुवानी गर्नबाट बञ्चि रहेको बताउँदै उनले केही महिना अघि त्यहाँ पुगेर स्थलगत समस्या अवलोकन गरेर आएको उनले बताए । ‘म उत्तरी गोरखाको छेकम्पार लगायतका स्थानमा पुगिसकेको हुनाले त्यहाँको गम्भीर समस्याहरु अवगत छ, पहिलो हामी त्यहाँको गोरेटो बाटो राम्रो बनाउछाँै’ उनले भने ‘केन्द्र सरकारसँग समन्वय गरेर सामागाउँ र छेकम्पारको दुबै नाका खुलाउन कोसिस गर्छौँ ।’
छेकम्पार र चुम्चेत सम्म खच्चड पुग्नका लागि गोरेटो बाटो निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । सो ठाउँमा गोरेटो बाटो निर्माण गर्न आवश्यक बजेटका लागि प्रशासन र स्थानी तहसँग प्राविधिक रिपोर्ट माग गरिएको पनि उनले बताए । चुमनुब्रीका स्थानीयहरु कोभिड भन्दा पहिले जस्तै वारीपारी खाद्यान्न लगायतका सरसामानका लिन जानका लागि सहज बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले बताए ।
भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले उत्तरी गोरखाको समस्या समाधान लागि पहल गरिदिन मुख्यमन्त्री पोखरेललाई अनुरोध गरेका थिए । उनले लोक्पाको पहिरोका कारण चार महिना देखि स्थानीयहरु माथि नै थुनिएको र सिर्दिबास डिपोमा चामल ढुवान हुन नसकिएको, तिब्बतसँग जोड्ने नाका खुलाउन गृहमन्त्रालयलाई पत्रचार गरिसेको समस्याहरु मुख्यमन्त्री पोखरेल समक्ष राखेका थिए । त्यस्तै उत्तरी गोरखामा खाद्यान्न हाहाकार हुन नदिन यस अघि पनि नेपाली सेनाको हेलिकप्टरबाट चामल ढुवानी गरेको बताए ।
यस्तै, पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङगानाले जिल्लामा लागु भएका सबै योजनाहरुको कार्यान्वय भइरहेको बताए । निर्वाचन पूर्वाधार विकास कार्यक्रमका लागि छनौटमा परेका योजना सम्बन्धीत मन्त्रालय र मुख्यमन्त्री कार्यालय पठाइसको उनले बताए ।
कार्यान्वयनमा ढिला भएका अन्य योजनाहरु निर्माण व्यवसायीसँग सम्झौता गरेर उनीहरुसँग कार्ययोजना मागेर सोही अनुसार काम गरिनेछ ।
स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायण अर्यालले प्रदेश सरकारबाट कोभिडबाट मृत्यु भएका परिवारलाई दिने भनिएको रकम अपुक भएकाले थप गर्नुपर्ने बताए । उनका अनुसार गोरखामा हाल सम्म कोडिका कारण जिल्ला भित्र ३४ जना र जिल्ला बाहिरी ३६ जना मृत्यु भएका छन् । यो तथ्यांक अझै बढ्न सक्ने बताउँदै प्रदेश सरकारबाट जम्मा ५० जनालाई पुग्ने रकम पठाइएको अर्यालले बताए । उत्तरी गोरखामा कोरोना विरुद्ध खोप ढुवानीका लागि हेलिकप्टरको व्यवस्था मिलाइदिन समेत उनले अनुरोध गरे । स्वास्थ्य कार्यालयहरुमा दरबन्दी अनुसार कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको उनले बताए ।
गोरखा अस्पतालमा पनि दरबन्दी अनुसार डाक्टर नहुदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका ड ाक्टर सुरज ढकालले बताए । ‘अस्पतालको नयाँ भवन बने पनि आवश्यक स्रोतसाधन र जनशक्ति छैन, हामी अव चाँडै नै नयाँ भवनमा सर्दैछाँै, तर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैन’ उनले भने ‘प्रदेश सरकारले करारमा राखेका डाक्टरहरुको पनि म्याद सकियो ।’ कार्यक्रममा मध्य पहाडी लोक मार्ग नाकाबन्दी, नेपाल बन्द, कोभिडका कारण काम सन्तोषजन तरिकारले अघि बढ्न नसकेको बताएका थिए ।
मुख्यमन्त्री पोखरेल शनिवार गोरखा नगरपालिका ९ को गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभामा सहभागी हुन गोरखा आएका थिए । सोही क्रममा नेपाली कांग्रेसको पार्टी कार्यालयमा उनले कार्यकर्ता भेटघाट गरे । भेटघाटका क्रममा जनप्रतिनिधिले कांग्रेस नेतृत्वको सरकार हुँदापनि गोरखाका स्थानीय तहको एउटा पनि योजना प्रदेश सरकारको प्राथमिकतामा नपरेकोे भन्दै गुनासो पोखे ।
अधिकासंले प्रदेश सरकार आफ्नो हुँदा जनताको चाहना र माग अनुसार काम गर्नुपर्ने र योजनामा प्राथमिकता दिन पनि मुख्यमन्त्री पोखरेलसँग अनुरोध गरे । जवाफमा उनले साधन स्रोधन अभाव र आवश्यकता धेरै हुँदा समस्या भएको बताए ।




