
गोरखा बजारभित्रैको सडकमा जोखिमपूर्ण यात्रा
केशव गुरुङ
गोरखा बजारभित्रैको सडक जीर्ण भएपछि सवारी चलाउनेले सकस ब्यहोर्नु परेको छ । बजारको मुख्य सडकको विभिन्न स्थानमा खाल्डाखुल्डी परेको छ । यत्रतत्र खाल्डाखुल्डी भएको सकडमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सवारी चालक तथा पैदलयात्रीको गुनासो छ ।
सडकमा भएको खाल्ड ाखुल्डीको निर्माण र मर्मत सम्भारमा कसैले चासो नदिएको उनीहरु बताउँछन् ।

‘सदरमुकमकै सडक जताततै खाल्डाखुल्डी छ । यसले गाडी चलाउन पनि डर हुन्छ, त्यो भन्दा बढी सवारी दुर्घटना हुने सम्भावना धेरै हुन्छ’ सवारी चालक नवराज मजकोटीले भने । सडकको खाल्डाखुल्डी नपुरी दिदा गाडी चाडै बिग्रने, गाडी ओहोरदोहोर गर्न समस्या हुने, गाडी जाम हुने गरेको उनले बताए ।

जिल्ला सदरमुकामको सडक सबभन्दा बढी सवारी आवागम हुने मात्र होइन, नीति निर्माण गर्ने, निर्देशन तथा कामको जिम्मा दिने व्यक्ति तथा निकायको पनि दिनहुँ आँखा परिरहने ठाउँ हो ।

बजार प्रवेशद्वार खोलखोलेदेखि गोरखा नगरपालिका कार्यालय खण्ड, हरमटारीदेखि बसपार्क खण्ड, सतिपिपलदेखि गोरखा दरबार खण्ड, हस्पिटलचोकदेखि आहाले सम्मको खण्ड लगायतका विभिन्न स्थानमा खाल्डाखुल्डी परेको छ ।
हाल खोलखोलेदेखि नगरपालिका चोकसम्म र सतीपिपलदेखि गोरखा दरबारसम्मको सडकको रेखदेख र स्तरउन्नतिको काम संघीय आयोजना कार्यान्वयन इकाई पोखराले गर्दै आएको छ ।
यसअघि सतिपिपलदेखि गोरखा दरबारसम्मको सडक कालोपत्रेका जिम्मा न्यू मिलेनियम कल्प वृक्ष जेभीले लिएकाले सोहि ठेकेदार कम्पनीलाई खाल्डा पुर्न जिम्मा लगाइने संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख झपटबहादुर थापा बताउँछन् । ‘अघिल्लो वर्ष उहाँहरुले सडक कालोपत्रे गरेको हुनाले ठूलो खाल्डा खुल्डी भएको छ भने हामी ठेकेदार कम्पनीलाई बनाउन लगाउछौँ’ उनले भने ।

त्यस्तै, खोलखोलेदेखि नगरपालिका चोकसम्म पनि सोहि कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ मा करिब दुई करोड ५० लाख रुपैयामा ठेक्का लगाएको हो । तर हालसम्म पनि सडक निर्माण कार्य सम्पन्न भएको छैन । सडक निर्माणका लागि अन्तिम म्याद चैत्रसम्म रहेको र हाल काम भइरहेको समेत कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनीदेखि गोरखा बजार(घ्या्म्पेसाल सडक खण्डको निर्माण भने सडक डिभिजन कार्यालय दमौलीले गर्दै आएको छ । सो सडक खण्ड अन्तरगत पर्ने सडक निर्माण, मर्मत संभारको लागि ठेक्का लागिसकेको सदरमुकाम लगायत ठाउँमा रहेको खाल्डाखुल्डी छिट्टै पुरिने कार्यालयका इन्जिनियर कल्याण खड्काले बताए । पुस लागेसँगै चिसोमा सडक कालोपत्र लगायतका काम गर्न नमिल्ने भएकाले मंसिर मसान्तभित्र मुख्य सडकमा रहेका खाल्डाखुल्डी पुरिसक्ने उनले बताए ।




