
गोरखामा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा
गोरखामा राष्टिूय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाभर ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहका जनगणनाको काम अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए । उनले भने, ‘आज र भोलि केही छुटपुट, उपचारको क्रममा वा अन्य काममा बाहिर गएका घरपरिवारको मात्र गणना हुन बाँकी छ । अहिलेसम्म जिल्लाभर करिब करिब ९० प्रतिशत काम सक्किएको छ ।’
जनगणनाको काम अन्तिम चरणमा रहेकाले सुपरिवेक्षकले नियममित रुपमा गणकहरुसँग समन्वय गरिरहेको उनले बताए । उनका अनुसार जनगणनामा खटिने गणकहरु आठ गते घरघरमा जाने र नौ गते कामको व्यवस्ताले छुटेका वा उपचारको क्रममा बाहिर गएकाहरु विवरण टिपोट गर्ने छन् । सोही दिन गणकले सुपरिवेक्षकलाई प्रतिवेदन बुझाउने कार्यालयले जनाएको छ ।
त्यस्तै, गणकले भरेको फाइलको डाटाहरु रुजु गरेर ११ गते सुपरिवेक्षकले जनगणनाका लागि पालिकामा स्थापना गरिएको जनगणना कार्यालयमा प्रतिवेदन बुझाउनेछन् । सो कार्यालयबाट १५ गतेभित्र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण बुझाइसक्नुपर्नेछ ।
यस्तै, मङसिरको अन्तिममा कार्यालयबाट जिल्लाभरिको विवरण सहित विभागमा पठाइने उनले जानकारी दिए ।
गोरखाको दुर्गम क्षेत्र चुमनुब्री गाउँपालिकामा जनगणना काम सकिएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिए । अन्य पालिकाहरुमा भने जनगणनाको काम जारी रहेको बताएका छन् ।
जिल्लाका सबै पालिकामा जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षण्क, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पन्न गर्न समेत उनले अनुरोध गरेका छन् ।
गोरखामा जनगणनाका लागि ९८ जना सुपरिवेक्षक र चारसय चार जना गणक खटिएका छन् । चैत्र मसान्तसम्म जिल्लाको प्रारम्भिक तथ्याक आउने कार्यालयले जनाएको छ ।




