
कांग्रेस गोरखाद्वारा टड्कारो समस्या पहिचान गर्न वडास्तरमा अगुवा कार्यकर्ता परिचालन
नेपाली कांग्रेस गोरखाले वडा र टोल स्तरमा तत्काल समाधान गर्नुपर्ने समस्या पहिचान गर्न अगुवा कार्यकर्ता परिचालन गरेको छ । केही दिनअघि सम्पन्न जिल्ला कार्यसमितिको बैठकबाट चुमनुब्री गाउँपालिका बाहेक ८७ वटा वडामा परिचालन गर्ने निर्णय भएको जिल्ला सचिव किशोरजंग थापाले बताए । टोलटोलमा पुगेर भेला गर्ने, स्थानीयले भोग्नु परेको टड्कारो समस्याको बारेमा जानकारी लिने, भातृ तथा शुभेच्छुक संघ संस्थाहरु तरुण दल, महिला संघ, भूपू सैनिक संघ, दलित संघ लगायत गठन गर्ने जिम्मेवारी दिएर परिचालन गरिएको उनले बताए ।
पालिकाको बैठक राख्ने र वडामा जाने गरी प्रतिनिधि खटाइएको सचिव थापाले बताए ।
खटिएको टोलीले मङ्सीर मसान्तभित्र जिल्ला पार्टीलाई प्रतिबेदन बुझाउनेछ ।
‘यसरी प्रतिबेदन आएपछि जनताले कहाँ कस्तो समस्या भोेगिरहेका छन् भन्ने बारेमा हामीलाई अझै यथार्थ र प्रष्ट जानकारी हुन्छ’, कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने । गुनासो र समस्या समाधानका लागि वडा, पालिका, प्रदेश र संघीय सरकारसँग कांग्रेसले पहल गर्ने उनले बताए ।
‘समस्या आएपछि समाधानको उपाय खोज्न सजिलो हुन्छ’, उनले भने, ‘टोलटोलमा पुगेर समस्या पहिचान गर्न र स्थानीयसँग लिन भनेका छौँ ।’ कांग्रेसको नयाँ जिल्ला कार्य समिति आएपछि टोलटोलमा पुग्ने गरी अगुवा कार्यकर्ता परिचालन गरेको यो पहिलो कार्यक्रम हो ।
जिल्ला कार्य समितिको बैठकले गोरखा काठमाण्डौँ सम्पर्क समिति, गोरखा पोखरा सम्पर्क समिति, गोरखा चितवन सम्पर्क समितिको तदर्थ समिति गठन सम्बन्धी कार्यविधि पनि पारित गरेको सचिव थापाले बताए । तीनवटै सम्पर्क समिति गठन गरिने उनले बताए ।




