| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा बालबिबाहमुक्त गाउँपालिका अनुकरणीय अभियान

बालबिबाह अन्त्यका लागि आरुघाट गाउँपालिकाले सकारात्मक अभियानको प्रतिवद्धता गरेको छ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बालविवाहमुक्त पालिका बनाउने मौखिक प्रतिवद्धतासहित सरोकारवालाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल सहितका जनप्रतिनिधि, सामाजिक संघसंस्था, आरुघाट गाउँपालिका भरिका १४ वटा विद्यालयका २८ वटा बाल क्लवहरु, सरोकारवाला सम्मिलित कार्यक्रममा सो प्रतिवद्धता जनाइएको हो । सो कार्यक्रममा बिबाह अन्त्यका लागि स्थानीय रणनीति २०७८ को बिमोचन पनि गरिएको थियो ।

गाउँपालिकाको आयोजना, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र पद्धति बिकास सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त हस्ताक्षर कार्यक्रम भएको हो । अभियन्ताहरुले गाउँबस्ती, आमा समूह, महिला समूह, विद्यालय, बालक्लवहरुमा गएर बालबिबाह गर्दा हुने बेफाइदाको बारेमा सचेतनामुलक कार्यक्रम चलाउने छन् ।

बालबिबाह गर्दा खेप्नुपर्ने कानूनी अड्चन, कारबाहीका बारेमा पनि उनीहरुले जानकारी गराउने छन् । त्यतिमात्र होइन, गाउँपालिकाले बालबिबाह गर्ने जोडीलाई पालिकाले दिने सेवा सुबिधाबाट बञ्चित गर्नु पर्ने स्थिति पनि आउनेछ ।

पालिकाभित्रका गाउँबस्तीहरु सदरमुकामबाट टाढा, सहरी सुविधाबाट पनि बञ्चित, भौगोलिक जटिलता, विद्यालय र गुणस्तरीय शिक्षाको पहुँचको अभाव, आधुनिक स्वास्थ्य सेवाको अभाव तथा गरिबी इत्यादिले गर्दा यहाँका प्राय बासिन्दा रुढीवादमा विस्वास गर्छन् । बालबिबाह पनि यस क्षेत्रको रुढीग्रस्त कुप्रथा हो । कतिपयमा सुधार आइसकेपनि कतिपय अझै यही बाध्यतामा छन् ।

आरुघाटमा मात्र होइन, अझै तल्लो भेगका कतिपय गाउँबस्तीमा पनि यस्तै अबस्था छ । यो परम्पराको अन्त्यका लागि आरुघाट गाउँपालिकाको अभ्यास अनुकरणीय छ । राम्रा कार्यक्रम त जोसित सिक्दा पनि फलदायी नै रहन्छ ।

यसअघि धार्चे गाउँपालिकाले पनि बालबिबाह रोक्ने अभियान सुरु गरेको थियो । त्यसले कति गति लिएको छ भन्ने बारे समीक्षा जरुरी छ । अभियान सुरु गरेर छाड्ने मात्र होइन, त्यसलाई निरन्तरताको पनि खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्