
डोजर चलाउन नजान्ने मेयरले डोजर चलाएर उद्घाटन गर्न खाजेपछि
पोखरामा मेयर पनि गज्जबका छन्। मुसुक्क हाँस्न छुटाउँदैनन्। कसैले केही भन्नासाथ कुरा बीचमै रोक्दै भन्छन्, ‘तपाईंले भनेको कुरा मैले बुझेँ।’
उनै मेयर मानबहादुर जिसी शुक्रबार बिहान पोखराको फिर्के खोला किनारामा झुल्किए। फिर्के खोलाको छेउमा फुट ट्रयाक बनाउने अभियानको उद्घाटन गर्न पुगेका उनलाई आयोजकमध्येको कोहीले डोजर चलाउन आग्रह गरे।
सजिला मेयर डोजर अपरेटर बस्ने सिटमा पुगे। हँसिलो अनुहारका मेयर सिटमा बस्दै गरेको फोटो खिच्न पत्रकार र सर्वसाधारणहरुको तछाँडमछाड चल्दै थियो। एक्कासी डोजर त अगाडि पो बढ्यो।
भएछ, के भने अपरेटर लीलाचन्द्र डल्लाकोटीको सिटमा बस्नासाथ मेयरले डोजरको लिभर दबाएछन्। लिभर दबाएपछि डोजर एक्कासी बाँयातिर घुम्यो, रेलिङ भत्कियो। रेलिङमा आड लागेका पत्रकारसहित सर्वसाधारण फिर्के खोलामा खसे। पत्रकारद्धय रञ्जन अधिकारी र सन्देश श्रेष्ठ स्थानीय आमा समूहकी अध्यक्ष गौरी पौडेलसहित ५ जना घाइते भए।
घटनापछि मेयर र सर्वसाधारण सबै तर्से। ‘कस्तो नराम्रो भयो भने धन्न मानिसहरुलाई सामान्य चोट मात्र लाग्यो ,ठूलो दुर्घटना हुन पाएन’, घटनास्थलमा रहेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने, ‘यो घटनाले मेयरलाई सचेत बनाएको छ।’
मेयर जिसीले पनि ठूलो दुर्घटनाबाट जोगिएको भन्दै घटनाप्रति दुःख व्यक्त गरे। आफूले डोजर नै चलाएर उद्घाटन नगरौँ भन्दा अपरेटर हुने भएकाले केही हुँदैन भन्ने जवाफ आएपछि डोजरमा चढेको उनले दावी गरे।
पोखरा लेखनाथ महानगरपालिकाले पोखराको बीचभागबाट बग्दै गएर फेवातालमा मिसिने फिर्के खोला अतिक्रमण रोक्न त्यसको नापजाँच र मापडण्ड निर्धारणको कार्यक्रम अगाडि सारेको छ। महानगरले यो काम बढाउँदै गर्दा वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले आफ्नो वडामा पर्ने फिर्के छेउमा फुटट्रयाक निर्माणको काम अगाडि बढाएका हुन्।




