निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अलोचनामुक्त बनोस्
गोरखामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रदेश सभा निर्वाचन क्षेत्रका सांसदहरुले हालै मात्र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गरेका छन् ।
हरेक क्षेत्रमा दुई करोड रुपैयाँका दरले बाँड्न पाउने बजेट प्रत्यक्ष निर्वाचित सांसदको अध्यक्षतामा सो क्षेत्रका अन्य सामानुपातिक सांसदसमेतको रोहबरमा विनियोजन गर्ने गरिन्छ । प्रक्रियावत रुपमा चार क्षेत्रमा गरी आठ करोड रुपैयाँ बजेट बाँडफाँट गरिएको छ ।
प्रदेश सांसदले आफ्नो कोषको बजेट बाँड्ने अभ्यास गरेको यो चौथो पटक हो । चौथो पटकको अभ्यास त्रुटिरहित हुन सकेन ।
भनिन्छ नि, त्रुटि मानवीय स्वभाव हो । तर जब एउटै त्रुटी बारम्बार दोहोरिन्छ, तब त्यो त्रुटि नभएर नियतजन्य गल्ती हो ।
यसपटक पनि सांसदहरुले विनियोजन गरेको कार्यक्रम र बजेट हेर्दा कार्यकर्तामुखी रह्यो । नेता संकीर्ण होइन, साझा हुनसक्नुपर्छ तब न नेता सर्वमान्य हुन्छ । आफ्ना आसेपासेलाई मात्र बजेट पोसेर कहिल्यै दीर्घकालीक राजनीति हुदैन ।
आजको दुनियाँमा आलोचनारहित त बन्न सकिँदैन, तैपनि कम आलोचनायुक्त हुन पहल गर्नुपर्छ । तर ‘प्रवृत्ति’ र ‘टे«ण्ड’ हेर्दा काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेर आत्मसमीक्षा नगरी आलोचनाको बेपर्वाह अघि बढ्ने गरेको पाइन्छ ।
यस्तो प्रवृत्तिले कार्यकर्ता र स्वपार्टीमा चर्को उज्यालो पर्नेछ, तर जसका लागि राजनीति गरेको हो, लक्षित बर्ग र समुदाय जता छ, त्यता भने पक्कै पनि ओझेल पर्नेछ ।
कार्यकर्ताको फर्मलाई मात्र पक्षपोषण गर्ने, भवन मात्रै बनाउने गर्दा जनपक्षीय काम हुन सक्दैन । सर्वपक्ष लाभान्वित बनेमा सबैको साथ, सहानुभूति र सहयोग पाइन्छ । अन्यथा सानो तप्काको प्रसंसा, ठूलो तप्काको गाली पाइन्छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बारम्बार यस्ता त्रुटी नदोहोरियून ।




