| सोमवार, कार्तिक २३, २०८३

मतदाता नामावली संकलन टोली मंसीरदेखि गाउँ–गाउँ जाने

चुनाब नजिकिँदै गर्दा मतदाता नामावली संकलन गर्ने टोली मंसीरको पहिलो सातादेखि सबै पालिकामा जाने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा मददाता नामावली संकलन सुरु गर्नेगरी टोली गाउँगाउँमा जान लागेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।


निर्वाचन आयोगको कार्यक्रमअनुसार मंसीरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता नामावली संकलन गर्ने टोली पठाउन लागेको हो ।
‘सबै पालिकामा मंसिर १ गतेदेखि मतदाता नामावली संकलन गर्ने टोली जाँदैछन्’, निर्वाच आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले भने, ‘बजेटका लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको छ ।

अर्थमन्त्रालयसँग बजेट माग गर्नुका साथै सोहि अनुसार प्राविधिक समेत तयारी भइरहेको छ । लगत्तै हामी मंसिर १ गतेबाट पालिस्तरमा मतदाता नामावली संकलन सुरु गछौँ ।’ अर्थमन्त्रालयले बजेटमा सहमति जनाउने बित्तिकै पालिकास्तरमा प्राविधिक खटाइने उनको भनाइ छ ।


वडास्तरमा धेरै खर्चिलो हुने भएकाले पालिकास्तरमा मात्र मतदाता नामावली संकलन हुने पनि उनले जानकारी दिए । आवश्यक स्रोत साधन र जनशक्ति अभावका कारण पालिकास्तरमा मात्र मतदाता नामावली संकलन हुने उनको भनाइ छ । यसका लागि प्राविधिकहरुलाई १ महिनाका लागि खटाउन अर्थमन्त्रालयसँग ११ करोड बजेट माग गरिरहेको उनी बताउछन् ।


प्रत्येक प्राविधिकलाई दैनिक १ हजार ८ सयका दरले पारिश्रमिक दिइने आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणापछि गरिएको मतदाता नामावलीलाई कानुनले मान्यता दिने नदिने भएको छ । सरकारले आगामी चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ । यस्तै, मतदाता नामावली संकलनका लागि नागरिक समाज, राजनीतिक दलसंग गर्ने तयारी रहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।


निर्वाचन कार्यालय गोरखाका अधिकारी टेक बहादुर कोइरालाका अनुसार भने आयोगबाट हाल सम्म कुनै जानकारी प्राप्त नभएको बताए । ‘आयोगबाट अहिले सम्म कुनै सूचना प्राप्त भएको छैन । पालिकास्तरमा मतदाता नामावली संकलन गर्ने भनेको चाहि सुनेको छु । आज भोलिमा कुनै सूचना आउला भन्ने लाग्छ,’ उनले भने, ‘यदि पालिका स्तरमा मतदाता नामावली संकलन गर्ने भएमा आवश्यक स्रोत साधन र जनशक्ति थप्नुपर्ने हुन्छ । अहिलेको जनशक्तिले धान्दैन ।’ आयोगबाट आधिकारी सूचना प्राप्त भएपश्चात आवश्यक तयारी थालिने उनको भनाइ छ ।


त्यस्तै, निर्वाचन कार्यालय गोरखाको २०७८ जेठ मसान्त सम्मको तथ्यांक अनुसार जिल्लामा हाल मतदाता नामावली संख्या दुई लाख सात हजार आठसय ९६ रहेका छन् । जस मध्ये पुरुष मतदाता १ लाख २ हजार ६ सय ७३ र महिला मतदाताको संख्या १ लाख ५ हजार दुई २१ रहेको छन् । हाल जिल्ला समन्वय समितिको भवनबाट जिल्लाभरिको मतदाता नामावलीको तथ्यांक संकलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्