
छुट्टै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर डा. भट्टराई उत्तरी गोरखामा
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउनुपर्ने एजेण्डा लिएर उत्तरी गोरखा पुगेका छन ।
संगठन सुदूढीकरण र जनपरिचालनका ‘सुज’ अभियानअन्तर्गत उनी अलग्गै जिल्लाको एजेण्डा सुनाउँदै धार्चेका विभिन्न गाउँमा पुगेका हुन् ।
अलग्गै जिल्ला बनाउन सके उत्तरी गोरखाको विकासमा कायापलट हुनेबारे स्थानीयलाई जगाउँदै उनी बिहिबार धार्चे गाउँपालिकाको केन्द्र माछाखोला पुगेका थिए । शुक्रबार उनी वडा नं. ४ को लाप्राक र शनिबार बारपाकको कार्यक्रममा सरिक हुन पुगेका हुन् ।
स्थानीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले उत्तरी क्षेत्रका दुई वटा गाउँपालिकालाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका हुन् ।
भौगोलिक रुपमा विकट रहेको उत्तरी क्षेत्रको विकास र समृद्धिका लागि यी दुई गाउँपालिकालाई छुट्टै जिल्ला बनाउनुपर्ने डा.भट्टराई बताए । ‘गोरखाको उत्तरी भेगलाई एउटा छुट्टै जिल्लाको बनाउने अभियान हामीले चलाउनुपर्छ’, उनले भने, ‘त्यसको निम्ति विशेष क्षेत्र बनाउन सक्ने भनेर संविधानमै उल्लेख गरिएको छ । यो स्वायत्त क्षेत्र विशेष क्षेत्र वा अलग्गै जिल्ला जे गर्दा पनि हुन्छ तर जनताले बुझने भनेको जिल्ला नै हो ।’ राज्यको हरेक तहमा पहुँच बढाउन र प्रतिनिधित्वका लागि छुट्टै जिल्ला हुनुपर्ने उनका तर्क छ ।
यसअघि माछाखोलामा सम्पन्न कार्यक्रममा जसपाका चुमनुब्री गाउँपालिका अध्यक्ष गणेश कार्की र धार्चे गाउँ पार्टी कमिटीका अध्यक्ष विश्वकुमार गुरुङले यी दुई जिल्लालाई छुट्टै जिल्ला बनाउनु पर्ने माग राखेका थिए । स्वायत्त क्षेत्र, विशेष क्षेत्र वा अगल्लै जिल्ला हुनुपर्ने उनीहरुको जोड थियो ।
स्थानीयबासीको मागलाई डाक्टर भट्टराईले नाराको रुपमा अघि बढाउनु पर्ने बताएका हुन् । ‘आफ्नो सत्ता आफ्नो हातमा नआएसम्म यहाँको विकासका निम्ति जति चिच्याएर कराए पनि तपाईँहरुले केही पाउनुहुन्न’, उनले भने, ‘जनता समाजवादी पार्टीले त पहिले देखि यो संघीयता मिलेको छैन भन्दै आएको छ ।
यसको निम्ति कांग्रेस, माओवादी, एमाले लगायतको सबै पार्टीहरु एकजुट भएर आउनुपर्छ । उत्तरी गोरखा आर्थिक, सामाजिक र राजनैतिक रुपमा धेरै पछाडि परेकाले यहाँको विकासका निम्ति सबै पार्टी एकजुट भई अर्को जिल्ला बनाउन छुट्टै अभियान नै चलाउनुपर्छ ।’ त्यसका लागि अगुवा कार्यकर्ताले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।
‘हामीले पहिलेदेखि नै पहिचान र अधिकारसहित संघीय पुनसंचरना हुनुपर्ने भनेर माग गर्दै आएको छौ । त्यसैले यसलाई साझा मुद्धा बनाएर अभियान चलाउन हामी सबैले संघर्ष र आन्दोलन ग¥यौँ भने यो सम्भव छ’ उनले भने ।
भट्टराईसंगै दुर्गम गाउँ अभियानमा नेतृ हिसिला यमी पनि सहभागी छन् ।




