
खाद्य कम्पनी गोरखाले प्रतिकिलो ५ रुपैयाँ छुटमा चामल बिक्री गर्दै
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखा शाखाले प्रतिकिलो पाँच रुपैयाँ छुटमा चामल बिक्री गरिरहेको छ । माघ २ गते सम्म छुट दरमा चामल बिक्री गरिने शाखा प्रमुख नबिन बस्नेतले बताए । यो वर्ष अहिले सम्म छुटमा शाखाले ६६ दशमलव ५५ क्विन्टल चामल बिक्री गरिसकेको छ ।
यस अघि दशैँ तिहार, छठलाई लक्षित गरी कात्तिक २४ सम्म छुटदरमा चामल बिक्री गर्ने शाखाले सुचना गरेको थियो । नेपालीहरुको माहान पर्व मध्य माघि पर्व पनि रहेकाले उक्त पर्वलाई मध्यनजर गरेर सहुलियत दरमा चामल बिक्री गर्ने समय थप भएको शाखा प्रमुख बस्नेतले बताए ।
अब माघ २ गते सम्म कम्पनीले बिक्री गर्ने चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । यस वर्ष खाद्य कम्पनी गोरखाले सोना मन्सुली पाँच दशमलव चार क्विन्टल, जिरा मसिनो ५१ दशमलव २५ क्विन्टल, अरुवा मकवानपुरा नौ दशमलव ९० क्विन्टल बिक्री गरेको छ ।
छुटपछि ३० किलोको सोना मन्सुली चामलको प्रतिबोरा मूल्य एक हजार तीन सय ८९ रुपैयाँ पर्नेछ । अरुवा मकवानपुरको प्रतिबोरा एक हजार तीन सय २० र २५ किलोको स्मिट जिरा मसिनो चामल प्रति बोरा एक हजार चार सय ७५ पर्ने कम्पनीका सुचना अधिकारी शिब सुनारले बताए ।
अहिले कम्पनीको पाटेचौरमा रहेको कार्यालयबाट तीन प्रकारका चामल खरिद गर्न सकिन्छ ।
अहिले उत्तरी गोरखाको माछाखोला र सिर्दिबास डिपोमा चामल ढुवानी भएको छैन । यो वर्ष ढुवानीको टेण्डर आह्वान भएको तर दाखिला नहुँदा रद्ध भएको उनले बताए । टेण्डर रद्ध भएपछि अहिले कम्पनीले डिपोबाट सहुलियत दरको चामल बिक्री गर्न सकेको छैन ।




