
जनगणनामा गणकलाई चुमनुब्रीबासीले जाति चुम्बा, भाषामा नुब्री लेखाउँदै
यसअघिको जनगणनामा जात र भाषा ‘तामाङ’ उल्लेख गरी सूचीकृत भएका गोरखाको हिमाली क्षेत्रका बासिन्दाले यसपटक आफ्नै जात र भाषा लेखाएका छन् ।
जनगणनाको क्रममा साबिक चुम्चेत र छेकम्पार गाविसका बासिन्दाले जाति र भाषाको कोलममा ‘चुम्बा’ लेखाएको उल्लेख गरेका छन् । त्यस्तै साबिक बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले जाति र भाषा दुवै कोलममा ‘नुब्री’ लेखाएका छन् ।
यसअघि तथ्यांक बिभागले आफूहरुको पहिचान मेटाई जात र भाषा दुवैमा ‘तामाङ’ उल्लेख गरेको भन्दै चुम र नुब्री उपत्यकाका बासिन्दाले यसपटक आफ्नै जाति र भाषा सूचिकरण गर्ने अभियान सुरु गरेका छन् ।
जनगणनामा नै आफ्नो बास्तविक जात र भाषा लेखाउन किमोलुङ फाउण्डेशनले संस्थागत रुपमा अभियान सञ्चालन गरेको फाउण्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले जानकारी दिए । ‘जनगणनामा घरमा आउने कर्मचारीलाई नुब्री उपत्यकाबासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकाबासीले चुम लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार प्रसार गरिरहेका छौँ । टोलटोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरह्यौँ ।’ यसपटकको जनगणनामा आफ्नो सही पहिचान स्थापित हुने उनले विश्वास व्यक्त गरे ।
आफ्नो क्षेत्रको बास्तविक पहिचानलाई स्थापित गराउन स्थानीय सचेत युवाहरु नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामा बताउँछन् । ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौँ’, उनले भने, ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले बास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीय स्तरका गणकले मिलाएर टिप्नेछन् ।’
यता धार्चेका बासिन्दाले यसपटकको जनगणनामा धर्ममा ‘बोन’ सूचीकरण गरेका छन् । यसअघि वौद्ध, हिन्दू र क्रिश्चियन सूचीकरण गरेका धार्चेका गुरुङ तथा घले समुदायले यसपटकको जनगणनामा धर्ममा बोन उल्लेख गरेका हुन् ।
आफूहरु बोन्पो भएकाले अन्य धर्म उल्लेख नगरी बोन नै उल्लेख गर्न गाउँघरमा सघन अभियान सञ्चालन गरेको टेकबहादुर गुरुङले बताए ।




