| सोमवार, कार्तिक २३, २०८३

प्रौढ कक्षा बन्द हुँदा पढ्न नपाएकाहरु समस्यामा

भनिन्छ, सिकाइ कोक्रोबाट सुरु हुन्छ र चिहानमा टुंगिन्छ । यो भनाइले अनौपचारिक सिकाइतर्फ इंगित गर्छ ।
तर गोरखाका केही महिलाहरु उमेरले डाँडा काट्दै गर्दा पनि औपचारिक शिक्षाको आरम्भ गर्दैछन् । सदरमुकामको बालमन्दिर माविमा ६९ बर्ष र ४५ बर्षका दुई महिला कक्षा १ मा भर्ना भएका छन् ।


प्राय ३ बर्ष, ४ बर्षको उमेर भएपछि बालबालिकाले औपचारिक शिक्षाको थालनी गर्ने चलन छ । तर ७० बर्षको उमेरमा औपचारिक शिक्षा आरम्भ गर्नुले सिक्नेलाई उमेरले छेक्दैन भन्ने कथनलाई यसले पुष्टि गर्छ । कालो अक्षर भैँसी बराबरको अबस्था झेल्नु परेको तथा विभिन्न ठाउँ र अबस्थामा व्यवहारिक चुनौति सामना गर्नुपरेकाले पढ्ने रहर जागेको उनीहरुको भनाइ छ ।

सबैजना मोबाइल चलाउँछन् । मोबाइलबाटै धेरै काम गर्छन् । तर आफूले केही नजाने पछि अक्षर चिन्नका लागि स्कूल भर्ना भएको उनीहरुको भनाइ छ । गाउँघर छाडेर बाहिर निस्कनासाथ पढाइको आवश्यकता खट्किन थालेपछि पढ्न बाध्य भएको उनीहरुको निश्कर्ष छ । कम्तिमा मोबाइलमा नम्बर डाइल गर्न मेसेज आदानप्रदान गर्न, युटुव र गुगलको दुनियाँमा विभिन्न कुराको खोजी गर्न, कुन ठाउँमा जान कुन सवारी चढ्ने व्यहोरा थाहा पाउन, साधारण हरहिसाब जान्न, बुझ्न कक्षामा भर्ना भई पढ्न थालेको ती प्रौढ महिलाहरुको भनाइ छ ।


औपचारिक कक्षामा भर्ना भएर पढ्ने उमेर गुज्रिएकाहरुका लागि सरकारले यसअघि प्रौढ कक्षा सञ्चालन गथ्र्यो तर साक्षर जिल्ला घोषणा गरेपछि जिल्लामा प्रौढ कक्षा सञ्चालन हुन बन्द भयो ।

यदि प्रौढ कक्षा सञ्चालन भएको भए नाति, पनाति तहका बालबालिकासित मिलेर पढ्न बाध्य हुनु पर्दैनथ्यो । तर ९७ प्रतिशत नागरिक शिक्षित भएपछि साक्षर जिल्ला घोषणा गर्ने अनि प्रौढ कक्षा बन्द गर्ने सरकारी कदमले पढ्न नपाएकाहरुले समस्या झेल्न बाध्य भए । अनौपचारिक कक्षा पुन सञ्चालन गरे पढाइबाट बञ्चित भएकाहरुले राहत पाउन सक्ने थिए ।

प्रतिक्रिया दिनुहोस्