| सोमवार, कार्तिक २३, २०८३

बिहिबारदेखि जनगणना सुरु, गोरखामा ४०४ गणक घरघरमा पुग्दै

गोरखामा कात्तिक २५ गतेबाट सुरु हुने १२ औँ जनगणनाको लागि अन्तिम तयारी पूरा भएको छ ।
‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु हुने २०७८ को जनगणनाका लागि आवश्यक स्रोत साधन सहित सुपरिवेक्षक र गणक कार्यक्षेत्रमा पुगिसकेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।


‘सुपरीवेक्षकले घर तथा घरपरिवार सूचीकरण तयार गरिसकेका छन् सोहीअनुसार गणकले कात्तिक २५ गतेबाट तथ्यांक संकलन सुरु गर्नुहुनेछ’, कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले भने ।

उनका अनुसार पहिलो चरण अन्तरगत भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले जिल्ला भरिको घर तथा घरपरिवारको सूचीकरण तयार पारेका थिए । जिल्लाभर ९८ जना सुपरिवेक्षक खटिएका छन् ।


यस्तै, गणकलाई पनि तालिम दिइसकेको उनले जानकारी दिए । उनले भने, ‘जनगणनामा खटिने सबै गणकलाई कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालिम दिइसकेका छौँ ।

सबै आ–आफ्नो कार्य क्षेत्रमा पुगिसकेका छन् ।’ तालिममा उनीहरुलाई जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनियता कायम राख्ने विषयमा जानकारी गराएका थिए ।


गोरखामा जनगणनाका लागि चारसय चार जना गणक खटिएका छन् । उनीहरुमध्ये गोरखा र पालुङटार नगरपालिकामा ८२ जना र ५९ जना, भीमसेनथापामा ३० जना, आरुघाटमा ३६ जना, धार्चेमा २४ जना, चुमनुब्रीमा १६ जना, अजिरकोटमा २२ जना गणक जनगणनामा खटिने छन् ।

यस्तै, बारपाक सुलिकोटमा ३४ जना, सिरानचोकमा ३१ जना, शहीद लखनमा ३७ जना र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिने कार्यालयले जनाएको छ । जनसंख्याको आधारमा एउटा वडामा एक जनादेखि ११ जनासम्म खटिने बताएको छ । हिमाली क्षेत्रमा भने एउटा वडामा २÷२ जनाको दरले खटाइएको ढुङ्गानाले जानकारी दिए ।


कार्यालका अनुसार एकजना गणकले बजार क्षेत्रमा दुईसयदेखि दुईसय ५० घरपरिबारसम्म गणना गर्नुपर्ने छ । ग्रामीण (पहाडी) क्षेत्रमा एकसय ७५ देखि दुईसय २५ घर परिबार र हिमाली क्षेत्रमा एकसय २५ देखि एकसय ७५ घरपरिवारको तथ्यांक संकलन गर्नुपर्ने छ । ‘एक घरमा पारिवारिक १७ र व्यक्तिगत ३७ गरी कुल ५४ वटा प्रश्न सोधिने छ ।

एक घरमा करिब आधा घण्टा समय लाग्छ,’ उनले भने । हरेक घर परिवारमा पुगेर गणकले घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत वितरणहरु भर्नुपर्ने हुन्छ । गणकले मुख्य प्रश्नवालीमा आर्थिक काम, पेशा, वस्तु, वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सन्चारका साधन, महिलाका नाममा सम्पति, घरेलु व्यवसाय, मातृमृत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे प्रश्न सोध्ने छन् ।


त्यस्तै, जनगणनमा खटिने गणकहरु फिल्ड पुगे नपुगेको दैनिक अनुगम हुने कार्यालय प्रमुख ढुङ्गाना बताउँछन् । ‘जनगणनामा खटिने गणकहरु आफ्नो कार्यक्षेत्रमा पुगेको छ या छैन भनेर हामीले दैनिक रेकर्ड राख्छाँै । गणकले दैनिक रुपमा आफ्नो सुपरिवेक्षकलाई र सुपरिवेक्षकले दैनिक रुपमा जिल्लामा रिपोर्ट बुझाउनु पर्छ,’ उनले भने ।


अहिलेको सोही ठाउँका स्थानीयहरुले नै जनगणना गर्ने भएकाले धेरै सहज हुने उनी बताउँछन् । उनले भने, ‘पहिले शिक्षकले मात्र जनगणना गर्ने गरेको थियो । अहिले सोहि ठाउँका स्थानीयहरुले नै तथ्यांक संकलन गर्नुहुन्छ । त्यसैले जनगणना कुनै अप्ठ्यारो हुदैन । यो हाम्रो लागि नौलो अभ्यास हो ।’


जिल्लाभरि कात्तिक २५ गतेदेखि मंसीर नौ गतेसम्म सबै स्थानमा जनगणना भ्याइसक्नु पर्ने उनले बताए । जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिना आउनेछ । करिब ९ महिना अर्थात असारमा सबै नतिजा आउने कार्यालयले जनाएको छ ।


जिल्लाका पाँच ठाउँमा अस्थायी कार्यालय स्थापना
जनगणनाका लागि जिल्लाका पाँच ठाउँमा अस्थायी कार्यालय स्थापना गरी काम भइरहेको छ । ‘आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका लागि आरुघाटस्थित मुकामबाट तथ्यांक संकलन हुनेछ’, कार्यालय प्रमुख ढुंगानाले भने, ‘घैरुङ मुकामबाट शहिदलखन र गण्डकी गाउँपालिकाको काम हुन्छ ।

यस्तै, गोरखा नगरपालिकाबाट गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका, पालुङटारबाट पालुङटार र सिरानचोक गाउँपालिका र भच्चेकबाट अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको जनगणनाको काम हुन्छ ।’
यस्तै, जनगणना कार्यलाई थप सहज बनाउन जिल्ला जनगणना समन्वय समिति, स्थानीय जनगणना समन्वय समिति र वडा स्तरीय सहजीकरण समन्वय समिति गठन गरिएको छ ।


अघिल्लो जनगणना भन्दा यसपटक के फरक छ ?
यस अघिको जनगणना भन्दा यो जनगणना केहि फरक रहेको कार्यालय प्रमुख ढुङ्गाना बताउँछन् । ‘यसपालिको जनगणनामा मातृशिशुको अध्ययन हुन्छ । यसमा १५ वर्षदेखि ४९ वर्ष समूहका गर्भवती, सुत्केरी महिलाहरुको विवरण संकलन गर्नेछौँ’ उनले भने ।


त्यस्तै, मुलुकमा संघियता लागु भएपछि हरेक स्थानीय तहमा हुनपर्ने पूर्वाधारको अवस्था बुझ्न सामुहिक प्रश्नवाली पनि तयार पारिएको छ । सहर सहर जस्तो र गाउँ गाउँ जस्तो छ या छैन भनेर अध्ययन गर्नका लागि सामुहिक प्रश्नवाली तयार गरिएको उनको भनाइ छ ।


नेपालमा हरेक वर्षको १०÷१० वर्षमा एक पटक जनगणना हुदै आएको छ । यो जनगणना नयाँ संविधान पछिको पहिलो गणना हनु लागेको भए पनि तथ्यांक ऐन २०१५ भने हाल सम्म पुरानै कायम रहेको छ । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्यांक तयार गर्नेछ ।

नेपालमा पहिलो जनगणना सुरुवात एक सय ९ वर्ष अघि वि.स. १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला देखि भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्