| सोमवार, कार्तिक २३, २०८३

अक्षर चिन्ने रहरले ७० वर्षमा कक्षा १ पढ्दै

मोवाईलमा आएको म्यासेज हेर्न, फेसबुक चलाउन, कतै यात्रामा निस्कँदा गाडी नम्बर थाहा पाउन, देश भित्रको घटना जान्ने चाहना ७० वर्षिय बिष्णुमाया गुरुङलाई जाग्यो । निरक्षर भएकाले आफु यी सबै कुराबाट बञ्चित भएको महशुस उनले गरिन् । आफु जान्ने हुन प्रौढ शिक्षा पढ्ने मनस्थितीमा पुगेकी उनले साथी, समुह पाईनन् । अन्ततः उनी गोरखा नगरपालिका ६ छहरेमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा १ मा भर्ना भएर पढ्न थालेकी छिन् ।


गोरखाको आरुघाट गाउँपालिका १ मान्बु माझगाउँकी उनलाई अक्षर चिन्ने रहरले विद्यालय पु¥याएको छ । ‘हाम्रो पालामा विद्यालय थिएन, पढ्न पाईएन, घरको कामले फूर्सद भएन’ उनले भनिन् ‘अहिले मेरो पनाती कक्षा ५ मा पढ्छ, म अक्षर चिन्ने रहरले कक्षा १ मा आएको हुँ ।’ अक्षर चिनेपछि थप कक्षा पढ्न उमेरले पनि समस्या हुने हो कि भन्ने चिन्ता उनलाई छ ।


उनी सँगै सोही गाउँकी ४५ वर्षिय बिष्णुमाया गुरुङ नामकै अर्की महिला पनि कक्षा १ मा भर्ना भएकी छिन् । ‘बैंकमा आउने पैसा, ब्याज, मोवाईलको ब्यालेन्स, लेखिएका अक्षरहरु पनि चिन्दैनौँ’ उनले भनिन् ‘यी कुरा जानिन्छ कि भनेर पढ्न आएको हुँ ।’ दुबै जना मंगलवारदेखि विद्यालय आएका छन् । सोमवार भर्ना गरेर उनीहरु मंगलवार बिहान १० बजेदेखि विद्यालय आएका पढेका छन् । ‘सके सम्म एक दिन पनि कक्षा छुटाउँदिन’ उनले भनिन् ‘जसरी पनि अक्षर चिन्नु छ ।’


४५ वर्षिय बिष्णुमायाले पनि प्रौढ शिक्षा पढ्न पाईन्छ कि भनेर धेरै सोधखोज गरेको तर नपाएको बताईन । ‘प्रौढ शिक्षा भएको भए त्यहाँ हामी जस्ता उमेर धेरै भएका मात्रै पढ्न सजिलो हुन्थ्यो’ उनले भनिन् । साना बालवालिका सँग सँगै बसेर कक्षा १ मा पढ्दा पनि आफुलाई असजिलो भने नभएको उनले बताईन । ‘सिक्ने रहर भएकाले होला अफ्ठेरो लागेको छैन’ कक्षा १ का बालवालिका सँग सँगै लेखपढ गर्दै गरेकी बिष्णुमायाले भनिन् ।


झोलाभरी किताब कापी बोकेर विद्यालय आएका यी दुई महिलाले बालवालिका सँग सिक्दै आफुले पनि लेख्दै गरेको दृष्य नौलो थियो । शिक्षक, विद्यालय पनि यो दृष्य देखेर दंग थिए । कक्षा १ मा पढ्दै आएका बालवालिका हजुरआमा, आमा उमेरका महिलालाई आफु सँगै पढ्दै, लेख्दै गरेको देखेर अचम्म मानिरहेका थिए ।


यी दुबै जना गोरखा सदरमुकाममा बस्छन् । विद्यालयमा आएर भर्ना हुने चाहना देखाएपछि विद्यालयले कक्षा १ मा भर्ना लिएर पढाउन सुरु गरेको बालमन्दिर माविका प्रधानाध्यापक शिब थापाले बताए । ‘

उहाँहरुले पढ्छु, सिक्छु भनेर आउनु भएपछि हामीले भर्ना लिएर पढाएका हौँ’ उनले भने ‘उहाँहरुको इच्छाशक्ति देख्दा बालवालिका सँगै सिक्नुहुन्छ जस्तो लागेको छ ।’ सिक्ने उमेरका बालवालिका र जेष्ठ नागरिकलाई एकै पटक सिकाउन सहज नभएपनि सँगसँगै लैजाने गरी सिकाउने उनले बताए ।
करिब तीन सय जना अध्ययनरत उक्त विद्यालयमा कक्षा १ मा २५ जना पढ्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्