स्क्रब टाइफसबाट सावधान
कोभिड १९ को पटक–पटकको आक्रमणबाट थकित, गलित गोरखाबासीले केही दिनअघि फेरि एक दुखद खबर सुन्नुप¥यो, स्क्रव टाइफसको संक्रमणबाट एक पुरुषको मृत्यू ।
रोगले आक्रमण गरेको २४ घण्टापनि नबित्दै भीमसेनथापा गाउँपालिका ६ अश्राङ थापाटारका ६७ बर्षीय एक पुरुषको गत कात्तिक १९ गते देहान्त भयो ।
स्क्रब टाइफसबाट मृत्यू भएको यो घटना गोरखाका लागि त पहिलो हुँदै हो, गण्डकी प्रदेशका लागि पनि पहिलो घटना हो । त्यसैले यो रोगको संक्रमण फैलन नदिन सम्बन्धित गाउँपालिकाले अश्राङ आसपासको क्षेत्रलाई संवेदनशीलताको हिसाबले हेरेको छ ।
के गाउँ, के सहर गोरखाको सबैतिर गाईबस्तु चराउने प्रचलन जीवितै छ । गाईबस्तुमा लाग्ने किर्नाको टोकाइ यति प्राणघातकसम्म पनि हुने रहेछ भन्ने बुझ्नु पर्ने जरुरी छ ।
यसअघि आरुघाट गाउँपालिकाको वडा नं. ९ र १० मा अधिक र वडा नं. ४ र ५ का पनि केहीलाई गरी ३५ जनालाई यो संक्रमण फैलिएको थियो । लामो समयको मिहिनेतपछि सो ठाउँमा यो रोग हटिसकेको छ । अब अश्राङ एवं अन्यत्र पनि यो रोग नफैलन दिनका लागि स्वास्थ्य शाखा, स्वास्थ्य अभियन्ताहरु जुट्नु जरुरी छ ।
कोभिड १९ राम्ररी नियन्त्रण नभैसकेको अबस्था छ । फेरि कुनै दिन उल्झिने सम्भावना उत्तिकै छ । गतबर्ष जस्तै कोभिडका बिरामी बढेको दुखद समाचार सुन्नु पर्ने त्रासैत्रास बोकेर सर्वसाधारणहरु हिडिरहेका छन् । फेरि स्क्रब टाइफसले अर्को खतरा ननिम्त्याओस् । यसमा सबैको सतर्कता, सजगता अपरिहार्य छ ।
कोभिडको तेस्रो श्रृङ्खलाले थप जनधनको क्षति हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड अनुशासित भएर पालना गर्न नछाडौँ । अहिले कोभिडका बिरामी देखिएका छैनन् भनेर मनमौजी गर्ने बेला छैन । चिन्ता लिनु भन्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न नछोड्नु वुद्धिमानी हो ।




