
गुप्सीपाखाको एकीकृत बस्तीमा ‘होम–स्टे’ सुरु
केशव गुरुङ
एउटै मोडेलको ५७३ घरधुरी झुरुप्प रहेको लाप्राकको गुप्सीपाखामा होमस्टे सेवा सुरु भएको छ । गत बिहिबार धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले होमस्टे सेवाको उद्घाटन गरेका हुन् ।
पर्यटनमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास गर्दै स्थानीयहरुलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले होमस्टे संचालनमा ल्याएको अध्यक्ष गुरुङले बताए । ‘धार्चेलाई उद्यमी गाउँ बनाउने हाम्रो लक्ष्य हो । भूकम्पले गर्दा नै लाप्राकलाई धेरैले चिन्ने अवसर पायो । अव हामी पर्यटकीय स्थलका रुपमा चिनाउने प्रयास गर्दैछौ,’ उनले भने, ‘त्यसैले हामीले एकीकृत नमूना बस्तीबाट होमस्टे सुरुवात गरेको छौँ ।’ नमूना बस्तीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यालाई बढाउन होमस्टे संचालनमा ल्याएको उनले बताए ।

होमस्टे संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना हुनका साथै स्थानीय उत्पादनको प्रवद्र्धन हुने र उद्यमी गाउँको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य समेत पूरा हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सामुदायिक होमस्टे संचालनमा आएसँगै लाप्राकमा घुम्न आउने पर्यटकहरुलाई धेरै सहज हुनेछ ।

गुप्सी पाखामा गैरआवासीय नेपाली संघ(एनआरएनए)ं ले पाँचसय ७३ घर निर्माण गरिदिएको छ । तीमध्य हाल पाँच घरबाट होमस्टे सुरु गरिएको हो । हाल दलवीर गुरुङ, सुनमाया गुरुङ, कोपिला गुरुङ, माया गुरुङ र हिममाया गुरुङले होमस्टे संचालन ल्याएका हुन् । यस्तै, हाल संचालनमा आएका होमस्टेको एउटा घरमा छदेखि सातजनासम्म राख्न सकिने र पाँच वटा होमस्टेमा एक रातमा ४० जनालाई राख्न सकिने गुरुङले जानकारी दिए । लाप्राक घुम्न आएका पर्यटकहरुले आफ्नो रुचि अनुसार होमस्टे वा होटल रोज्न सकिने समेत संचालक गुरुङ बताउँछन् ।

लाप्राकसम्म पर्यटक आउजाउ गर्न सहज भएमा होमस्टे थप गर्दै जाने गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘गुप्सीबस्तीको होमस्टेलाई नेपालकै सबैभन्दा ठूलो सामुदायिक होमस्टे बनाउने लक्ष्य लिएका छौँ । अहिले बाटोको समस्या भएका कारण पर्यटकहरु कम आएका छन् । सडक ग्रावेल भई बाह्रै महिना गाडी चल्न थालेपछि पर्यटकको वृद्धि हुनेछ । त्यतिबेला नमूना बस्तीका २ सय घरमा होमस्टे संचालन गर्न हामी तयारी अवस्थामा छौँ ।’ हाल गाउँसम्म जोड्ने कच्ची सडक पटकपटक पहिरो जाने भएका कारण पर्यटकको आउजाउमा समस्या भएको उनको भनाइ छ ।

यस्तै, होमस्टेमा आउने पाहुनालाई स्थानीय अर्गानिक खाना खुवाउने होमस्टे संचालक दलबीर गुरुङले बताए । गाउँमै उत्पादन गरिएको फापरको रोटी, आलुबाट बन्ने विभिन्न परिकार, स्थानीय स्तरमा उत्पादन गरिएका च्याउ, कोदो, मकै, सिस्नु, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध रहेको गुरुङले बताए । हाल होमस्टेमा एउटा वेडको शुल्क २५०, सादा खानाको २ सय, ब्रेक फास्टका १५० तोकिएको छ । होमस्टे समितिले पुर्णता पाएपछि भाडा दर केहि परिवर्तन हुन सक्ने समेत गुरुङले जानकारी दिए ।
गोरखबाट बाह्रकिलो, छेवेटार, बालुवा, बारपाक हुदै ६० किलोमिटर पार गरेपछि यहाँ पुग्न सकिन्छ । गुरुङ जातिको बाहुल्यता भएको यो गाउँमा बिभिन्न कला संस्कृति पनि हेर्न पाइन्छ । यहाँबाट गणेश हिमाल, बौद्ध हिमाल, मनास्लु हिमाल लगायतका हिम श्रृंखला देख्न सकिन्छ ।
२७ सय मिटर उचाईमा रहेको एकीकृत नमूना बस्तीमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । त्यसैले एकीकृत नमूना बस्तीलाई थप प्रचारप्रसार गर्न होमस्टेले धेरै सघाउन पु¥याउने गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् ।
त्यस्तै, लाप्राक घुम्न आउने पर्यटकहरुलाई थप सहज बनाउन एकीकृत नमूना बस्तीमा सूचना केन्द्र निर्माण गरिएको छ । लाप्राक घुम्न आउने पर्यटकहरुलाई उत्तरी गोरखा र गाउँको बारेमा जानकारी दिनका साथै होमस्टेमा आउने पर्यटक थप सहज बनाउन सूचना घर निर्माण गरिएको वडा अध्यक्ष राज गुरुङले जानकारी दिए । उनका अनुसार करिब १३ लाखमा हिउँचुली लाप्राक कोसेली घर तथा सूचना केन्द्र निर्माण भएको हो । यसका लागि गण्डकी प्रदेशबाट १० लाख रुपैया विनियोजना भएको थियो ।





