| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारको फोहोर उठाउने जिम्मा निजी कम्पनीलाई (यस्तो छ शुल्क)

गोरखा नगरपालिकाले नगरक्षेत्रको फोहोर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको छ । ‘क्लिन गोरखा प्राली’ नामको कम्पनीलाई फोहोर उठाउने जिम्मा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।


गोरखा नगरपालिका र क्लिन गोरखा बिच गत असोज १० गते फोहोर ब्यवस्थापनको विषयमा सम्झौता भएको हो । कात्तिक १७ देखि क्लिन गोरखा प्रालीले फोहोर उठाउन सुरु गरेको जनाएको छ ।

सार्वजनीक निजी साँझेदारी अन्र्तगत नगरपालिका र क्लिन गोरखा प्राली बिच सम्झौता भएको हो । ‘दुई पटक सम्म सुचना निकालेर साँझेदारीका लागि आह्वान गर्दा क्लिन गोरखा बाहेकले इच्छा देखाएनन’ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने ।
नगरपालिकाले सरसफाईमा खटिने कर्मचारी, गाडी मर्मत लगायत काममा वार्षिक २० लाख भन्दाबढि खर्च ब्यहोर्नु परेको जनाएको छ । ‘साँझेदारीले नगरपालिकाकाले यो खर्च अन्यत्र लगानी गर्न सकिन्छ’ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने ‘सरसफाईलाई पनि ब्यवस्थित गर्न सकिन्छ कि भन्ने योजना अनुसार साँझेदारी गरेका हौँ ।’

प्रालीले छ महिना सम्म नगरपालिकाको सवारी साधन र जनशक्ति प्रयोग गर्नेछ । छ महिना पछि एक वर्ष सम्म कर्मचारीलाई तलबमा ५० प्रतिशत प्रालीले दिने र गाडीभाडा नगरपालिकालाई तिर्नुपर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत पन्तले बताए ।


पर्यटकीय नगर गोरखालाई सफा र सुन्दर राख्न फोहोर ब्यवस्थापन प्रमुख आधार रहेकाले निजी क्षेत्र सँग नगरपालिकाले साँझेदारी गरेको नगरप्रमुख राजनराज पन्तले बताए । ‘अन्यत्र पालिकाहरुले पनि निजी क्षेत्र सँगको सहकार्यमा सफल अभ्यास गरिरहेका छन्’ उनले भने ‘हामीले त्यहाँको सिकाईलाई गोरखामा पनि प्रयोग गर्न खोजेका हौँ ।’
क्लिन गोरखा प्रालीले एक साता अघिदेखि गोरखा बजारमा फोहोर उठाउन थालिसकेको कम्पनीका प्रबन्धक रञ्जित श्रेष्ठले बताए । ‘नगरपालिका सँग कम्पनीको सम्झौता अनुसार काम सुरु भईसकेको छ’ उनले भने ।

नगर कार्यपालिकाबाट निर्धारण भए अनुसारको शुल्क लिएर फोहोर उठाईने उनले बताए । ‘अहिले हामीले केही समय शुल्क उठाउन सुरु गरेका छैनौँ, मंसिर १ गतेदेखि सदस्यता कार्ड बितरण गरेर सरसफाई शुल्क लिन थाल्ने योजना छ’ उनले भने ।


‘अब कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै’


गोरखा नगरपालिकाले यस अघि कुहिने र नकुहिने फोहोर एकै पटक एउटै गाडीमा उठाउँदै आएको थियो । पटक–पटक कुहिने–नकुहिने फोहोर छुट्याएर फाल्न नगरपालिकाले अनुरोध गरेपनि नगरबासीले टेरेनन् । नगरपालिकाले छुट्टाछुट्टै फोहोर फाल्ने बानीको बिकास गर्न सकेन ।
अहिले भने क्लिन गोरखाले सर्वसाधारणलाई कुहिने नकुहिने फोहोर छुट्टाछुट्टै राख्न अनुरोध गरेको प्रालीका प्रबन्धक रञ्जित श्रेष्ठले बताए ।

‘हामी कुहिने नहुहिने फोहोरका लागि गाडी नै छुट्टाछुट्टै पठाउँछौँ र फोहोर उठाउँछौँ’ उनले भने । नगरबासीले कुहिने फोहोर छुट्टै फालेको खण्डमा त्यसलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरको ब्यवस्थापन गर्न सहज हुने उनले बताए । ‘कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा दुर्गन्ध पनि बढी हुन्छ’ उनले भने ।
साथै घरबाट निस्कने काम नलाग्ने सामग्रीहरु (कबाडी) संकलन गर्न क्लिन गोरखाले कर्मचारी घर घरमा पठाउने उनले बताए । ‘यस्ता सामग्री उचित मूल्य दिएर उठाईने हुँदा जथाभावि नफाल्न, नदिन अनुरोध छ’ प्रबन्धक श्रेष्ठले भने ।

अहिले गोरखा नगरक्षेत्र भित्र कबाडी स्टोर गरिएको ठाउँमा फोहोर अत्याधिक छ । बस्तीको बिचमा कबाडी संकलन गरेर राख्दा बजार पनि कुरुप देखिएको छ भने स्वास्थ्यमा पनि अप्रत्यक्ष असर पुगेको गुनासो स्थानीयले गरेका छन् ।

बजार क्षेत्रमा फोहोर धेरै हुने भएकाले हरेक दिन बिराएर गाडी पठाईने उनले बताए । ‘गोरखा नगरपालिका भित्रको बजार क्षेत्र बाहेकका अन्य वडामा पनि हामी फोहोर उठाउने योजनामा छौँ’ उनले भने ।

नगरभित्रको ग्रामिण बजार क्षेत्रमा पनि फोहोरको गाडी पठाउने तयारी प्रालीले गरेको जनाएको छ । ‘ग्रामिण बजारबाट पनि फोहोर उठाउने योजना हाम्रो छ’ प्रालीका फिल्ड म्यानेजर बिष्णु थापा मगरले बताए । ‘कुन बार, कुन समय कुन ठाउँमा फोहोर लिन गाडी आउँछ भन्ने जानकारी हामीले टोलटोलमा दिनेछौँ’ उनले भने ।


यस्तो छ फोहोरको सेवा शुल्क


नगर कार्यपालिकाको बैठकले नगरक्षेत्र भित्र फोहोर शुल्क उठाउने निर्णय गरेको छ । उक्त निर्णय कार्यन्वयन भने सहज रुपमा भएको छैन । नगरपालिकाले गरेको निर्णय अनुसारकै शुल्क लिएर क्लिन गोरखा प्रालीले फोहोर उठाउने जिम्मा लिएको जनाएको छ । सदस्यता शुल्क दुई सय रुपैयाँ लाग्ने र हरेक दुई वर्षमा सदस्यता नबिकरणको ब्यवस्था गरिएको छ । यो बाहेक मासिक शुल्क निम्न अनुसार तोकिएको नगरपालिकाले जनाएको छ ।

किसिम / सरसफाई शुल्क
घर/प्रति परिवार १००
चिया पसल, फुटपाथ पसल १५०
ब्यशायीक पसल प्रति सटर २००
वित्तिय संघ संस्था २००
रेष्टुरेण्ट ३००
मासु÷तरकारी÷फलफुल पसल ३००
कपाल काट्ने÷ब्यूटि पार्लर ३००
मोटरसाईकल ग्यारेज ५००
लज सहितको सामान्य होटल ५००
गाडीको ग्यारेज १०००
लज सहितको ठुला होटल १०००
स्टार होटल २०००
क्लिनिकको सामान्य फोहोर ५००
हस्पिटल र नर्सिङहोम २०००

प्रतिक्रिया दिनुहोस्