
संगठन सुदृढिकरण तथा जनभेटघाटका क्रममा जसपा अध्यक्ष बाबुराम भट्टराई गोरखामा
जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई गृहजिल्ला गोरखाको बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन गोरखा आएका छन् । सोमबार गण्डकी गाउँपालिकाको घ्याल्चोक, तोरीस्वाँरा, बेनीगाउँ, रामपुर लगायत ठाउँबाट उनले संगठन सुदृढिकरण एवं जनभेटघाट थालेका हुन् ।

भेटघाटका क्रममा उनले देशको बर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनुका साथै सुज अभियानको बारेमा पनि बताउने गरेका छन् । साथै स्थानीय स्तरमा जनताले भोग्नुपरेको समस्याका बारेमा पनि उनले सोधखोज गरेका जसपाका कार्यालय सचिव ज्योती कोईरालाले बताए । बूढीगण्डकी डुबान क्षेत्रमा पर्ने गण्डकी गाउँपालिकाका स्थानीयले भने बूढीगण्डकी आयोजनाले बनाएको अन्यौल र ढिलासुस्तीको बारेमा पनि गुनासो गरेका थिए ।

जनता समावजादी पार्टीले ‘सुज’ नाम दिएको उक्त अभियान अन्र्तगत बिभिन्न पालिकामा आयोजित कार्यक्रममा सहभागी हुन दुई साताका लागि भट्टराई गोरखा आएको जनता समावजादी पार्टी गोरखाले जनाएको छ । सोमवार सुरु भएको उक्त अभियानमा जसपाका केन्द्रिय सदस्य हिसिला यमी, गण्डकी प्रदेशका उर्जा जलस्रोत मन्त्री हरिशरण आचार्य सहित जिल्ला र पालिका स्तरका नेताहरुको सहभागीता रहेको छ ।
‘सुज’ अभियान अन्र्तगत कात्तिक २२ देखि मंसिर ३ गते सम्म बिभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको छ ।




